मोरङ, ३ फागुन । पूर्व उपप्रधानमन्त्री तथा एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सत्ताधारी दलले सहमति नगरे आन्दोलन जनविद्रोहमा परिणत हुने चेतावनी दिनुभएको छ ।
आइतबार विराटनगरमा पार्टी निकट बुद्धिजीवीहरुसँग भेटघाट गर्दै उपाध्यक्ष श्रेष्ठले आफूहरुले सहमतिका लागि दबाबमूलक ढङ्गले आन्दोलन घोषणा गरेको बताउनुभयो ।
उहाँले दशवर्षे जनयुद्ध र दोस्रो जनआन्दोलनको उपलब्धि संस्थागत गर्न संविधानसभा आवश्यक भएको बताउँदै सहमतिमा नभई बलपूर्वक संविधान जारी गरिए पहिचान पक्षधरहरुले आन्दोलनलाई विद्रोहमा परिणत गर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले आफूहरुले जातीय प्रदेशको कुरा कहिल्यै नगरेको तर पहिचान विरोधीले भ्रामक हल्ला फैलाएर पहिचानलाई जातीयता हो भनेर जनतालाई अल्मल्याइरहेको पनि बताउनुभयो ।
घोषित ३० दलको आन्दोलन संविधान जारी गर्नकै लागि भएको तर सत्ताधारी दलबाट बहुमतीय प्रक्रिया रोक्ने जानकारीसहितको वक्तव्य आएमा आफूहरु वार्तामा बस्न तयार रहेको जानकारी पनि उहाँले दिनुभयो । रासस
















प्रतिक्रिया