काठमाडौं, ३ फागुन । भूमिगत समयमा कम्युनिष्ट क्रान्तिकारीहरुलाई सेल्टर प्रदान गर्ने तत्कालीन अखिल नेपाल क्रान्तिकारीको कोर्डिनेसन केन्द्रका सदस्य भक्ति घिमिरेको ६६ वर्षको उमेरमा निधन भएको छ ।
तत्कालीन एक तन्त्रिय शासनको जगजगी भएको बेलामा कम्युनिष्ट क्रान्तिकारीहरुलाई ‘टेरोरिष्ट’को नामले खोजिन्थ्यो, मारिन्थ्यो र विभिन्न बहानामा बेपत्ता पारिन्थ्यो । त्यस्तो बेलामा जनतालाई गोल बन्द गर्दै जनताको काम र पार्टी सञ्चालनमा निकै चुनौती पूर्ण हुन्थ्यो ।
त्यस्तो समयमा क्रान्तिकारीहरुसँग सम्बन्धित हुन आइपुगेका २४/२५ वर्षका घिमिरे २०३३ सालमा अखिल नेपाल क्रान्तिकारी कोअर्डिनेसन केन्द्रका सदस्य घिमिरेको आइतबार निधन भएको हो ।
उहाँको निवास सबैको सम्पर्क केन्द्रविन्दु थियो । एक निडर, विचारक र संगठनको तहमा उत्तिकै अब्बल तथा सम्पर्क समन्वयमा निकै चतुरताका साथ पार्टी कामलाई व्यवस्थित गर्ने सेल्टरदाता घिमिरेलाई कालले टिपेर लगेको हो ।

पशुपति आर्यघाटमा उहाँको दाहँसंस्कार गरिएको छ । उहाँलाई श्रद्धाञ्जली व्यक्त गर्न आर्यघाट आउनुभएका नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले स्व. घिमिरेलाई स्मरण गर्दै भन्नुभयो, ‘दोलखाको दुर्गम नाम्दु गाउँ घिमिरे टारमा जन्मनुभएका घिमिरेले अहिलेका चर्चित नेताहरु झलनाथ खनाल, माधव नेपाल, ईश्वर पोखरेल, प्रदिप नेपाल, सि.पी. मैनाली लगायतलाई सेल्टर प्रदान गर्नुभई पार्टीका महत्वपूर्ण कार्यहरुमा सहयोग गर्नुभएको थियो ।
काठमाडौ उपत्यकामा वहाँको निवास नै अघोषित सम्पर्क विन्दुको रूपमा रहेको थियो । पिताभवानी प्रसाद घिमिरे तथा आमा पवित्रमाया घिमिरेको कोखबाट जन्मनुभएका वहाँ पनि पिता जस्तै सामाजिक सुधारक हुनुहुन्थ्यो । दोलखा जिल्लाका सामन्ती निरंकुशताविरुद्ध लड्दै क्रान्तिकारीहरुको हरेक मोर्चामा उहाँको वैचारिक नेतृत्व रहने गर्दथ्यो ।’

श्रद्धाञ्जली व्यक्त गर्न आइपुग्नुभएका उहाँका समकक्षी नेकपा एमालेका नेता तथा दोलखाका सभासद् आनन्द पोखरेलले पनि उहाँलाई स्मरण गर्दै भन्नुभयो,–‘वर्ग शत्रुहरुसँग कहिल्यै नझुक्ने, पार्टीको जिम्मेवारीलाई जीवन हत्केलामा राखेर पनि पूरा गर्ने आदत भएका एक अनुशासित, इमान्दार पार्टी र आन्दोलनप्रति निष्ठावान, दृढ क्रान्तिकारी व्यक्तित्व गुमाउन पुगेका छौं । दोलखा जिल्लाले त कम्युनिष्ट आन्दोलनको अगुवा र निष्ठावान अभिभावक नै गुमाउन पुगेको छ ।’
भक्ति घिमिरे पछिल्लो केही समय अगाडिदेखि मृगौला रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँ नेकपा एमाले काठमाडौ क्षेत्र नं. ५ संग सम्बन्धित हुनुहुन्थ्यो । उहाँले पार्टी संगठनलाई भूमिगत कालदेखि नै महत्वपूर्ण साथ, सहयोग पुर्याउँदै निरन्तर पार्टी काममा क्रियाशील रहँदै आउनु भएकोले नेकपा एमाले कामपा ४ वडा कमिटीले उहाँको योगदानको कदर गर्दै सम्मान गरेको थियो ।
उहाँलाई श्रद्धाञ्जली दिन नेकपा एमालेका सचिव योगेश भट्टराई, नेता माधव पौडेल, नेकपा एमाले काठमाडौ क्षेत्र नं. ५ का अध्यक्ष हरि अधिकारी, सचिव अनिता लामा लगायत स्थानीय नेताहरुको सहभागिता थियो । उहाँका श्रीमती र ३ छोरी हुनुहुन्छ ।
















प्रतिक्रिया