महोत्तरी, ३ फागुन । मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले एकीकृत नेकपा माओवादीका नेताहरुले चाहँदैमा संविधान निर्माण कार्य नरोकिने बताउनुभएको छ ।
लाखौं नागरिकको अधिकार सुनिश्चित हुने संविधान बन्न नदिनु जनताको मत अपमान गर्नु सरह हो भन्नुभयो । ‘प्रचण्ड बाबुरामले भन्दै संविधान बन्दैन भन्नु गलत कुरा हो । तर सहमतिमा संविधान बनाउनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ उहाँले भन्नुभयो ।
सर्वपक्षीय संविधान निर्माणका लागि राष्ट्रिय सहमतिको विकल्प नरहेको उहाँको भनाई छ । महोत्तरीको सदरमुकाम जलेश्वरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता गच्छदारले नयाँ संविधान मधेसी, आदिवासी जनजाति, महिला, मुसलमान, पिछडिएको क्षेत्र तथा हरेक वर्ग र समुदायका अधिकारको सम्बोधन गर्ने खालका बनाउने लक्ष्य रहेकाले त्यसका लागि राष्ट्रिय सहमति अपरिहार्य छ भन्नुभयो ।
उहाँले काँग्रेस र नेकपा एमालेले विगतमा भएका पाँचबुँदे, बाह्रबुँदे र अन्तरिम संविधानलाई टेकेर सहमति र सहकार्यको बाटो अवलम्बन गरेर जाँदा देश, जनताले चाँडै संविधान पाउने तथा देशमा राजनीतिक, आर्थिक, समाजिक स्थिरता कायम हुने विश्वास व्यक्त गर्नुभयो ।















प्रतिक्रिया