– मोहन विष्ट
महेन्द्रनगर, ३ फागुन । कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा छोटो दुरीमा रहेको दैजी–बेल्डाँडी सडक लामो समयपछि सर्वे भएको छ । सडक डिभिजन सडक कार्यालय महेन्द्रनगरले फागुनको पहिलो साता देखि सर्वे काम शुरु गरेको छ ।
सडक डिभिजन सडक कार्यालय महेन्द्रनगरका ईन्जिनियर खुम बहादुर भण्डारीले कञ्चनपुरको मुख्य सडक भएकाले स्तरोन्नतीका लागि सडक सर्वे गर्न लागेको जानकारी दिनुभयो ।
उहाँका अनुसार पहिलो चरणमा १० किलोमिटर सडक सर्वे गरिनेछ । डिभिजन कार्यालय महेन्द्रनगरले बजेट अभावको कारण देखाउदै पहिलो चरणमा १० किलोमिटर मात्रै सडक सर्वे गरिने ईन्जिनियर भण्डारीले बताउनुभयो ।
ईन्जिनियर भण्डारीका अनुसार सडक डिभिजन कार्यालयले उक्त सडक कालोपत्रे गर्नका लागि २२ करोडको लागत स्टमेट तयारी पारी विभागमा समेत पठाएको छ । ‘सडक डिभिजन कार्यालयले दैजी–बेल्डाँडी सडक कालोपत्रे गर्नका लागि विस्तृत लागत विवरण सडक विभागमा पठाएको छ ।’, उनले भने ।
केन्द्रले पुरै बजेट दिए आँउदो आर्थिक वर्षमा सडक कालोपत्रे गरिने ईन्जिनियर भण्डारीको भनाई छ । ‘बजेटमा भर पर्छ, सो सडक कालोपत्रे गर्ने वा नगर्ने विषय हो ।’, उनले भने । स्थानियको माग अनुसार सडक डिभिजन कार्यालयले सडको स्तरोन्नतीका लागि प्रयास थालेको भण्डारीको भनाई छ ।
यसैविच सडक डिभिजन कार्यालय महेन्द्रनगरले दक्षिणी क्षेत्र जोड्ने अर्के कलुवापुर–बेलौरी सडक खण्ड कालोपत्रे गर्नका लागि ५ करोड ८० लाख लागत स्टमेट विभागमा पठाएको छ । दुवै सडकको बजेट आए कालोपत्रेको काम शुरु सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ ।
सो सडकको बजेट निकासा बारे निर्वाचन क्षेत्र नं. १ का सविधानसभा सदस्य दिवान सिह विष्टले बजेट निकासा गर्न आफ्नो क्षेत्रबाट पहल गर्ने आश्वासन दिनुभयो । दैजी–बेल्डाँडी र कलुवापुर–बेलौरी सडक कालोपत्रे गर्नका लागि केन्द्रमा सरकारलाई घचघच्याउने उहाँले बताउनुभयो । ‘मेरो निर्वाचन क्षेत्रमा परेका सडक कालोपत्रे गर्न तयार छु ।’, उनले भने ।
सडक डिभिजन कार्यालयले बजेट अभावको कारण देखाउदै पहिलो चरणमा १० किलोमिटर मात्रै सर्वे गर्ने काम गर्दैछ । एकै पटक पुरै सडक सर्वे गरिनुपर्ने त्यहाँका स्थानियहरुको माग छ । दैजी–बेल्डाँडी सडक सुधार संघर्ष समितिका संयोजक गोपभल पन्तले सडक कार्यालयले थालेको काम सरहानिय भएको भन्दै एकै पटक पुरै सडक सर्वे गरिनुपर्ने माग अघि गर्नुभयो ।
संयोजक पन्तले एकै चरणमा सर्वे र कालोपत्रे हुनुपर्ने माग अघि सार्नुभयो । सो सडकका कारण दक्षिणी क्षेत्रको औद्योगिक विकास हुन नसकेको भन्दै कञ्चनपुर उद्योग वाणिज्य संघले पनि एकै पटक सडक कालोपत्रे हुनुपर्नेमा जोडदिएको छ ।
कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव हेमराज जोशीले सो सडक कालोपत्रे नहुँदा समग्र जिल्लाको विकासका साथै औद्योगिक विकासमा समेत समस्या उत्पन्न भएको भन्दै चाँडै सडक कालोपत्रे हुनुपर्नेमा जोडदिनुभयो ।
‘दुई चरणमा कालोपत्रे गर्दा सडकको अवस्था फेरी बिग्रीने भन्दै एक चरमा कालोपत्रे गर्नुपर्छ ।’, उनले भने । सो सडक कालोपत्रे गर्नका लागि पटक पटक सम्बन्धीत निकाय संग माग गर्दै आएका स्थानियहरुले सडक डिभिजन कार्यालयले गर्न लागेको सर्वेले सडक सुधार हुने आशा पलाएको छ ।
सडक सुधार नभएका कारण दक्षिणी क्षेत्रका स्थानियहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । दैजी देखि बेल्डाँडी सम्म झण्डै २० किलोमिटर रहेको उक्त सडकका कारण दक्षिणी क्षेत्रको औद्योगिक, कृषि व्यवसायिक विकास हुन सकेको छैन् । सो सडक कालोपत्रे नभएका कारण जिल्लाको समग्र विकास निर्माणमा समेत बाधा उत्पन्न गराएको छ ।
बेल्डाँडी क्षेत्रका युवाहरुले उक्त सडक कालो पत्रे नभएका कारण दक्षिणी क्षेत्रमा उद्योगहरु समस्यामा परेको बताएका छन् । सो क्षेत्रका युवा समाजसेवी विमल धामीले सडक नभएका कारण दक्षिणी क्षेत्रको औद्योगिक विकासले फटको मार्न नसकेको बताउनुभयो । ‘दक्षिणी क्षेत्रमा सुदूरकै ठुला उद्योग छन्,तर सडक नभएका कारण संकटमा परेका छन् ।’, उनले भने ।
उखु कृषिका लागि उपयुक्त सो दक्षिणी क्षेत्रमा रहेका चिनिमिलहरु पनि सडककै कारण झन समस्यामा परेको उनको भनाई छ । सडक कालोपत्रे नभएका कारण समग्र दक्षिणी क्षेत्रको आर्थिक, समाजिक तथा सांस्कृतिक विकासमा समेत बाधा उत्पन्न गराएको उनको भनाई छ । ‘३० मिनेटको सडकमा घटौँ समय लाग्छ ।’, उनले भने ।
उहाँले दक्षिणी क्षेत्रमा सबै युवाहरुका तर्फबाट सडक सुधारमा गम्भिर हुन समेत सरकारसंग आग्रह गर्नुभयो । सडक कालोपत्रे गर्न आलटाल गरे त्यस बिरुद्ध संघर्ष चर्काउने स्थानियहरुको चेतावनी छ ।















प्रतिक्रिया