२ कार्तिक २०८३, सोमबार

एमाओवादीलाई समानान्तर सत्ताको दुस्वप्न नदेख्न अर्जुननरसिंह केसीको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

‘राप्रपा नेपाल, जनमोर्चा, मधेशवादी सबै दलको सहमति कसरी जुट्छ ?’ 

arjunnarsingh-kc

-भोलाराज पौडेल

नुवाकोट, २ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चालाई समानान्तर सत्ताको दुस्वप्न नदेख्न चेतावनी दिनुभएको छ ।

विचार र बादविवादबाट निष्कर्षमा पुग्न छाडेर समानान्तर सत्ता बनाउने भाषा प्रयोग गर्नु गलत भएको उहाँको भनाई थियो । उहाँले लोकतान्त्रिक जनआन्दोलनका शक्तिलाई पन्छाएर संविधान जारी गर्नुको कुनै अर्थ नहुने बताउनुभयो ।

प्रेस युनियन नुवाकोटले विदुरमा शनिवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता केसीले बहुमतको आडँमा १२ बुँदे समझदारीदेखि पछिल्लो संविधानसभाको मताधिकारलाई समेत आधार बनाएर न्यूनतम सहमतिमै संविधान जारी गर्नुपर्छ भन्ने आफ्नो भनाई रहेको धारणा राख्नुभयो ।

नेता केसीले पूर्ण सहमतिमा संविधान जारी भएको कुनै पनि देशमा इतिहास नभएको स्पष्ट पार्दै प्रमुख विषयहरुमा भने सहमति आवश्यक हुने बताउनुभयो ।

‘संसारका २८ वटा देशमा बनेका संविधान सहमतिबाट नभई प्रक्रियाबाटै भएको पाइन्छ, नेता केसीले भन्नुभयो– राप्रपा नेपाल, राप्रपा, जनमोर्चा, मधेशवादी सबै दलको सहमति कहाँबाट जुट्छ ?’ केसीले सबै राजनीतिक दलको भावनालाई संयोजन गरेर न्यूनतम साझा अवधारणाको विकास गर्नुपर्ने सुझाव समेत दिनुभयो ।

केसीले कुनै पनि राजनीतिक दलले विचार र बादविवादबाट निष्कर्षमा पुग्न छाडेर समानान्तर सत्ताको दुस्वप्न नदेख्न आग्रह समेत गर्नुभयो । दलहरुले पनि सत्ताको घमण्ड गर्न नहुने र सत्ता बाहिरका दलहरुले पनि विचारको राजनीतिदेखि भागेर लाठीको राजनीति गरेर कही नपुग्ने बताउनुभयो ।

अहिलेको राजनीतिक परिस्थितिलाई ध्यानमा राखेर न्यूनतम विषयमा सहमति कायम गरी संविधान जारी गर्नका लागि एकीकृत नेकपा माओवादी तयार हुनुपर्नेमा उहाँको जोड थियो । आन्दोलनको नाममा एमाओवादीले लाठी बोक्ने दस्ता बनाउने र संघर्षको कार्यक्रम अघि सारेर देशले निकास नपाउने उहाँको भनाई थियो ।

संविधान निर्माणको काम धारो, कुलो, बाटो बनाएर जस्तो फाष्ट ट्रयाकबाट बनाउन नसकिने बताउँदै प्रक्रियागत रुपमा नै बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।