११ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्रीलाई भेटेर प्रचण्डले के भने ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

susil and parchanda

काठमाडौँ, २ फागुन । प्रधानमन्त्री सुशील कोइरालाले आफ्नै निवास बालुवाटारमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसंग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भएको कुराकानीमा दलबीचको तिक्ततालाई तोडेर कसरी सहमतिका साथ संविधान जारी गर्ने तथा पछिल्लो राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको जनाइएको छ ।

छलफलपछि दुवै नेताले दिएको प्रतिक्रियाअनुरुप पनि गहिरिँदो दलीय संवादहीनता र गतिरोधको अन्त्य भई सहमतिमा संविधान जारी गर्ने नयाँ सम्भावना देखिएको छ । छलफलपछि प्रधानमन्त्री कोइरालाले समस्या समाधान कसरी गरी कसरी अघि बढ्ने भन्नेबारे कुराकानी भएको र वार्ताको वातावरण बनाउनाको विकल्प नरहेको उल्लेख गर्नुभयो ।

“वार्ताका लागि मैले पटक पटक पहल गरिराछु, सहमति र एकताबाट नै समस्या समाधान गर्नुपर्छ भनेर मैले भनेँ, उहाँले पनि चिन्ता जनाउनुभएको छ, आजको कुराकानीले सकारात्मक वातावरण बनाएको छ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री कोइरालाले संवाद, सहमति, सहकार्य र एकताले मात्रै मुलुकको समस्या समाधान गर्न सकिने बताउँदै सञ्चारमाध्यममार्फत प्रतिपक्षी दललाई पुनः वार्ताका लागि आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “सहमतिको वातावरणका निम्ति सबै चिन्तित हुनुहुन्छ, हामीहरु चाँडै बस्छौँ र वार्ताको वातावरण बनाउँछौँ, संवादले समस्याको टुङ्गो लगाउँछ भन्नेमा म विश्वस्त छु ।”

सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमाले तथा प्रमुख प्रतिपक्षी दल एमाओवादीसहित मधेसकेन्द्रितबीच बोलचाल त बन्द भई एकले अर्कालाई सार्वजनिक कार्यक्रममा आपत्तिजनक अभिव्यक्ति दिँदै दूरी बढाएका थिए ।

संविधानसभामा सहमतिमा संविधान जारी गर्नुपर्नेमा दलहरु सहमत भए पनि आफ्ना दलीय अडानबाट टसको मस हुन नसक्दा अन्तत्वोगत्वा प्रक्रियामार्फत संविधान जारी गर्ने दिशामा सत्तारुढ दलले कसरत थालेपछि उक्त प्रक्रियामा असन्तुष्टि जनाउँदै प्रतिपक्षी दल चिढिएका थिए ।

तथापि प्रक्रियाप्रति रुष्ट बनेको एमाओवादी तथा मधेसकेन्द्रित दलसँग विभिन्न माध्यमबाट प्रधानमन्त्री कोइरालाले सहमतिका लागि वार्ता र संवादको पहलकदमी गर्दै आउनुभएको थियो ।

प्रधानमन्त्रीसँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाओवादी अध्यक्ष दाहालले आजको छलफलले वार्ताको सकारात्मक वातावरण बन्दै गएको भन्दै यसलाई औपचारिकता दिन अझै सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

“म ३० दलीय मोर्चाका तर्फबाट नभई प्रतिपक्षी दलको हैसियतमा प्रधानमन्त्रीसँग कुरा गर्न आएको हुँ, यसले वार्ताको सकारात्मक वातावरण बनाएको छ, औपचारिक वार्ताका लागि अझै गृहकार्य गर्न जरुरी छ, संसद् स्थगन गर्नु सकारात्मक कुरा हो, संवादबाट नै समस्याको निकास खोजिनुपर्छ”, अध्यक्ष दाहालले भन्नुभयो ।