महेन्द्रनगर, २ फागुन । पूर्व प्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्दले एकीकृत नेकपा माओवादीले जातीय राज्यको कुरा गरेर आफू नै आफ्नो वचनको कैदी भएको टिप्पणी गर्नुभएको छ ।
महेन्द्रनगरमा शनिवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री चन्दले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जातीय राज्यको कुरा गर्दा संविधान निर्माण प्रक्रियामा सहमति हुन सकेको हो भन्नुभयो ।
“माओवादीहरु जातीय राज्य होइन भनेर फर्किंदैछन्”, चन्दले भन्नुभयो, “तर फर्किने ठाउँ छैन ।” उहाँले प्रश्नावली समितिलाई उपयोग गरेर सबै राजनीतिक दल एक ठाउँमा बसेर विवादित विषयमा सहमति खोज्नुपर्नेमा जोडसमेत दिनुभयो ।
“प्रश्नावली समितिमै आएर सहमति खोज्नुपर्छ । दलबीच सहमति गरी संविधान निर्माणको मिति तय गर्नसमेत उहाँले आग्रह गर्नुभएको छ । संविधान देशको मूल कानुन मात्र नभई भावी सन्ततिको दस्तावेज पनि भएको बताउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतासमेत रहनुभएका चन्दलेसबै मिलेर संविधान बनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रमुख राजनीतिक दलले माघ ८ मै संविधान जारी गर्छौं भनेर अनावश्यक प्रचारबाजी गरेकै कारण समस्या सिर्जना भएको उहाँको भनाइ थियो । “अहिले उम्किन खोज्दैछन्” उहाँले भन्नुभयो– “जनताले कहिले माग ८ मै संविधान जारी गर भनेका थिए र ?” संविधानसभाको समय चार वर्ष भएको बताउँदै उहाँले सो अवधिमा संविधान जारी हुने बताउनुभयो ।
उहाँले माघ ८ मै संविधान जारी गर्ने बाध्यता नरहे पनि दलको प्रचारबाजी मात्रै गरेको धारणा राख्नुभयो ।















प्रतिक्रिया