३० आश्विन २०८३, शुक्रबार

प्रचण्ड-बाबुरामको उपलब्धि: अजय सुमार्गी र ल्हारक्याल लामासँगको दोस्ती !

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-Baburam

लडाकुले रगत बगाउनुको उपलब्धि माओवादी नेतालाई पुँजीवादी बनाउनुमात्रै थियो त ? नत्र किन अजय सुमार्गी र ल्हारक्याल लामा प्यारा भइरहेका छन? यही थियो त माओवादीको जनयुद्ध गर्नुको उद्देश्य ? 

समाचार टिप्पणी : कमलराज भट्ट  

एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता हुन् बाबुराम भट्टराई । केन्द्रीय समिति पदाधिकारी सक्रिय हुँदा बाबुराम पार्टीका उपाध्यक्ष थिए । १० वर्षे जनयुद्धका ‘सेकेण्ड म्यान’ पनि हुन बाबुराम । ‘फस्ट म्यान’ थिए प्रचण्ड ।

आजभन्दा १९ वर्षपहिले २०५२ फागुन १ गते जनयुद्धको सुरुवात भएको दिन थियो । सामन्तवाद, दलाल र नोकरशाही पुँजीवादका विरुद्ध भन्दै माओवादीले हतियार उचाल्यो । माओवादीकै भाषामा उसको आन्दोलनले पुँजीवादलाई घुँडा टेकाउन बाध्य पा¥यो । तर, माओवादीले अवसर पाएपछि आफै पुँजीवादतिर लम्कियो । जनयुद्धका कमाण्डरहरु पुँजीवादी भए । लडाकुहरु जहाँको त्यही छन् । उनले न त परिवर्तन पाए । नत पुँजी नै पाए । खाली जनयुद्ध मात्रै लडेका थिए । पुँजीवादीकै कारण माओवादीमा फुटको संघारमा पुग्यो ।

भनिन्छ, कम्युनिष्टहरु कहिलेपनि अलग हुँदैनन् । तर नेपालमा आफूलाई कम्युनिष्ट भन्ने पार्टीहरु विभाजन हुँदाहुँदै एक दर्जन भन्दा बढी पुगिसकेका छन् । माओवादीले जनयुद्ध त लड्यो । तर उपलब्धि के भयो ?

१० वर्षे जनयुद्धका प्रथम कमाण्डर प्रचण्डले आफ्नो निर्णयमा अडिग रहन नसक्दा पार्टी विभाजनको कारण हो भन्नेहरु पनि धेरै छन् । प्रचण्डको बोलीको ठेगान नभएको भनेर पनि कतिपय खबरहरु आएका छन् । प्रचण्ड भनेका जनयुद्धका नेतृत्वकर्ता हुन् । उनी कतिपय विषयमा नम्र रुपले प्रस्तुत हुन्छन् । सहमतिका लागि लचिलो हुने नेताको रुपमा प्रचण्डलाई बुझिन्छ । जनयुद्धमा सामन्तवाद, दलाल र नोकरशाहीलाई हटाएर सर्वहारा वर्गलाई नेतृत्वमा पुर्‍याउने अठोट पनि माओवादीले गरेको थियो । माओवादी आन्दोलनले खासगरी विपन्न किसान, उत्पीडित महिला, दलित, जनजाति, मधेश, र उपेक्षित क्षेत्रका समुदायमा ठूलो प्रभाव पार्‍यो । मध्ययुगीन छुवाछुत र भेदभावविरुद्धको माओवादी क्रान्ति भन्दै आन्दोलन छेड्यो । तर, विगतमा आफूले सामन्तवादी र दलाल भनेकालाई पार्टीमा राखेर जनयुद्धको खिल्ली उडाएको छ ।

लडाकुले रगत बगाउनुको उपलब्धि माओवादी नेतालाई पुँजीवादी बनाउनुमात्रै थियो त ? नत्र किन अजय सुमार्गी र ल्हारक्याल लामा प्यारा भइरहेका छन? यही थियो त माओवादीको जनयुद्ध गर्नुको उद्देश्य ? अहिले त्यतिबेला युद्ध लडेका लडाकुहरु प्रश्न गरिरहेका छन् । अहिले पनि युद्धका घाइते, बेपत्ता परिवारहरुको हातमुख जोड्ने अवस्था छैन । प्रचण्ड र बाबुरामकै कारण उनीहरु बाटोको बुर्की भइरहेका छन् ।

Kamal-Bhatt
लेखक

 

मानव तस्करी गिरोहमा संलग्न व्यक्तिलाई पार्टीको उच्च ओहदामा राख्नु, सभाषद् बनाउनु सामन्तवाद र पुँजीवादलाई प्रश्रय दिनुनै हो । यसका पक्षधर उनै जनयुद्धका नाइके प्रचण्ड–बाबुराम हुन् । जनयुद्धका ‘सेकेण्ड म्यान’ बाबुराम भट्टराई अहिले पश्चिम नेपालका जनतासँग भेटघाट गर्दैछन् । उनले पश्चिमबाटै भनेका छन् । पार्टीले जसलाई पद दिएपनि अरुलाई किन टाउको दुखाई भयो ? जनयुद्धमा लडेका ‘सेकेण्ड कमाण्डर’ले नै यसरी प्रस्तुत हुँदा माओवादी कार्यकर्ताले के सोचे होलान भन्ने प्रश्न पनि यहाँनेर आउछ । विभिन्न उतारचढाव पार गर्दै माओवादी पार्टीले २० औं जनयुद्ध दिवस मनाइरहेको छ । तर, आफूले गरेका बाचा पूरा गर्न नसक्दा दिवस मनाएको अर्थ हुनेवाला छैन् ।

जनयुद्धका ‘सेकेण्ड म्यान’ बाबुरामले आफ्नै श्रीमती हिसिला यमीलाई नियन्त्रण गर्न नसकेको खबर पनि बाहिर आएका थिए । विभिन्न आयोजनामा आर्थिक लेनदेन गरेको खबर पनि बेलाबखत छताछुल्ल हुन्छ । बाबुरामले हजारौँ परिवारका छोरीलाई हतियार बोकाएर आफ्नी छोरीलाई पढ्नका लागि विदेश पठाउनु गम्भीर विषय छ । जनयुद्धको भावना अनुसार सबै बराबर हुने भनिएपनि आफैले त्यसको उल्लंघन गरेका छन् ।

पछिल्लो राजनीतिक अवस्थामा पनि माओवादीले जनयुद्धले बोकेका एजेण्डाहरु सामेल गरिएको देखिँदैन् । संविधान दिएर देशलाई विकासको वाटोमा डोर्‍याउन सके पनि जनयुद्धको सम्मान गरेको मानिनेछ । अहिले आन्दोलनका पश्चिम कमाण्डर तोकिएका जनयुद्धका ‘सेकेण्ड म्यान’ बाबुराम भट्टराई निकै आक्रामक ढंगबाट प्रस्तुत भइराखेका छन् । प्रथम म्यान सहमति बनाउन लचिलो देखिएपनि ‘सेकेण्ड म्यान’ कडा शैलीमा प्रस्तुत हुनुलाई आश्चर्यका रुपमा लिइएको छ । के बाबुराम अझै पनि चाहन्छन् जनयुद्ध गरौं ? संघर्ष गरौं ? हजारौ नेपालीको अकालमै ज्यान लिऔं ?

प्रचण्ड सहमतिकै बाटोमा समाधान निकाल्ने भनिरहँदा बौद्धिक भनिएका बाबुराम किन क्षुद्र भएर प्रस्तुत हुँदैछन् । बाबुरामले सोचेका हुनसक्छन्, सहमतिले गन्तव्यमा पुग्न सकिँदैन । त्यसैले उनी पृथ्वीनारायण शाहको शैलीमा पूरै राज्य जितेर परिवर्तन गर्न चाहन्छन् । तर, अहिले परिस्थिति त्यस्तो छैन ।

अहिलेको परिस्थितिमा जनयुद्धका सबै घटनाक्रम नियालेर संविधानकै बाटोमा अघि बढ्नुको विकल्प छैन् । जनतासँग जनयुद्धमा गरेका वाचा पूरा गर्न सके माओवादी राज्यको निर्णायक मोडमा पुग्नेछ । अन्यथा बाबुरामको आक्रामक शैलीले देशले निकास पाउने अवस्था छैन् । जनयुद्ध दिवसमा सम्पूर्ण सहिदहरुलाई श्रद्धान्जली ।