९ कार्तिक २०८३, सोमबार

सभाध्यक्ष नेम्बाङले सहमति गर्न दलहरुलाई दिए दश दिनको समय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

subash-nembangकाठमाडौँ, २८ माघ । राजनीतिक दलहरुलाई सहमति कायम गर्न सहज हुने गरी संविधानसभा बैठक भोलि बिहीबार डाकेर १० दिनका लागि स्थगन गरिने भएको छ ।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङले बुधबार आफ्नै कार्यकक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै आफूले सहमतिलाई प्राथमिकता दिँदै दलहरुको भावनाअनुसार संविधानसभा बैठक १० दिनका लागि स्थगन गर्ने मनसाय राखेको जानकारी दिनुभयो ।

दलहरुबीच सहमतिका लागि भोलि १ बजेसम्म केही त्यस्तो सङ्केत आइदिए आफू समय उपलब्ध गराउने पक्षमा रहेको खुलासा गर्दै सभाध्यक्ष नेम्वाङले अहिलेसम्म भने केही सङ्केत नदेखिएको बताउनुभयो ।

भोलि बस्ने संविधानसभा बैठकमा प्रस्ताव निर्माण समितिले पेस गर्ने प्रश्नावलीसहितको प्रस्ताव टेबुल भई भोलि नै दलहरुको भावनाअनुसार अनुमोदन हुने जानकारी दिँदै सभाध्यक्ष नेम्वाङले सहमतिका लागि दलहरुले पाएको समय सदुपयोग हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

दलहरुले सहमतिका लागि पटकपटक पाएको समयमा कुनै निष्कर्ष ननिस्केको गुनासो गर्दै उहाँले भन्नुभयो, “सहमति भनेर मात्र भएन । त्यसका लागि त संवाद हुनुपर्छ ।”

प्रस्ताव निर्माण समितिको प्रश्नावलीसहितको प्रस्ताव संविधानसभाले अनुमोदनको प्रक्रियामा लैजाँदा सिधै कार्यान्वयनमा लैजान सकिने भएपनि दलहरुबीचको सहमतिबाट अनुमोदन गराउने तयारी गरिएको हो ।

आज मात्रै राष्ट्रपति डा रामवरण यादवसँग भएको भेटमा राष्ट्रपतिले संविधान निर्माणका बारेमा चासो र चिन्ता राखेको जानकारी दिँदै सभाध्यक्ष नेम्वाङले सहमतिमा संविधान ल्याउन दलहरुबीचको संवादहीनताको अवस्था टुट्नुपर्ने बताउनुभयो । रासस