– कमलराज भट्ट
भनिन्छ, नयाँ मान्छेसँग नयाँ परिवर्तन हुन्छ । भारतको राजनीतिमा छोटो समयमै कब्जा जमाएका अरिवन्द केजरीवालको अभुतपूर्व सफलताले अब कस्तो बाटो लिन्छ भन्नेमा यतिबेला विश्वजगतको ध्यान तानिएको छ । प्रधानमन्त्री भएसँगै चर्चाको शिखरमा चुलिएका भारतीय जनता पार्टीका नरेन्द्र मोदीलाई त यसले झट्का दियो नै, केजरीवालले अब कस्तो नीति अबलम्बन गर्छन् भन्नेमा सबैको ध्यान खिचिएको छ ।
पछिल्लो समय एकपछि अर्काे गरी निकै चर्चामा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि आपका नेता अरविन्द केजरीवालका सामुन्ने फल्प भए । दिल्लीमा निर्वाचन परिणाम अनुसार केजरीवाल ‘आप’ले कुल ७० सिटको ६७ सिटमा जित हात पार्यो ।

सन् २०१३ को अघिल्लो दिल्ली विधानसभा निर्वाचनमा २८ सिटमा जितेर कंग्रेससँग मिलेर केजरीवालले सरकार चलाएका थिए । उनले दिल्लीको मुख्यमन्त्रीको पद सम्हालेका थिए । त्यसपछि उनी दिल्लीमा सुधार गर्न प्रयत्नरत भए ।
तर, आफ्नो गठबन्धन कंग्रेस पार्टी विपक्षी भाजपातिर लागेपछि केजरीवाललाई सरकार चलाउन अप्ठेरो पर्यो । विपक्षीले अहयोग गरेपछि अल्पमतमा आफ्ना योजना सफल हुन नसक्ने विचार गरी उनले काम गर्न नसक्ने भन्दै दिल्ली सरकार प्रमुख (मुख्यमन्त्री पद)बाट ४९ दिनमै राजीनामा दिएका थिए ।
केजरीवालले कहिल्यै आफूलाई मालिक ठानेनन् । बरु आफ्नो मालिक जनता नै भएको ठानेँ । त्यसैले त जतिदिन कुर्सीमा बसेर काम गरे, जनताको भावना अनुसार काम गरे । काम गर्न नदिनेसँग जुधेनन् मात्रै, कुर्सी नै समेत त्यागिदिए ।
उनले ४९ दिनमा दिल्लीका न्यून आयस्तर भएका जनताका लागि राहत पुग्ने काम गरेर चर्चा पनि कमाए । त्यसको ठीक २ वर्षपछि अहिले बहुमतसहित दिल्लीमा शासन चलाउने तयारीमा केजरीवालको ‘आप’ लागेको छ । लोकसभामा बहुमत ल्याएर भारतमा एकछत्र राज गरिरहेको मोदी ‘भाजपा’ले दिल्लीमा नराम्रो हार खायो । ३ सिटमै सीमित भयो । अब उसको राज दिल्लीमा चल्नेवाला छैन् ।
भारतीय राजश्व सेवामा कर अधिकृत अर्थात सरकारी जागिरे केजरीवाल राजनीतिमा लागेको दुइबर्ष मात्रै भएको छ । सरकारी जागिर छाडेर भारतका प्रजातान्त्रिक नेता अन्ना हजारेको सूचना हकको आन्दोलनमा लागेका उनले आम आदमीलाई समेटेर सन् २०१३ को मार्चमा आप पार्टी बनाएका थिए । आपको मुख्य नेता समेत रहेका केजरीवालले आउँदो फेब्रुअरी १४ तारिख शनिवारका दिन दिल्लीको रामलिला मैदानमा मुख्यमन्त्रीको सपथ लिँदैछन् ।
जनतालाई राहत हुने खालका बाचालाई केजरीवालले पूरा गरेको हुनाले उनलाई जनताले अहिले पनि मुख्यमन्त्रीको कुर्सीमा पु¥याएका छन् । मुख्यमन्त्रीको कुर्सी सम्हालेपछि केजरीवालले के गर्दैछन् भन्ने विषयमा भारत लगायत विश्वभरी विश्लेषण सुरु गरिएको छ । उनले जनतालाई अझै कसरी राहत दिँदैछन् ? भन्ने प्रश्नहरु पनि उब्जिएका छन् ।
आपले बाचा गरेको प्रतिबद्धता पूरा गर्न केजरीवाललाई सजिलो छैन् । सस्तो लोकप्रियताका लागि भाषणवाजी र बाचा केजरीवालले गरेको कतिपयले भनेका छन् । त्यसका बाबजुद पनि उनले दिल्लीका जनतालाई निःशुल्क पानी, बिजुली, भ्रष्ट्राचारमुक्त सरकार, कर्मचारी, स्थानिय निकाय लगायतका वाचा पूरा गर्ने अभियानको सुरुवात यसअघि नै सुरुवात गरिसकेका छन् ।
केजरीवालले कसरी बाचा पूरा गर्दैछन् हेर्न बाँकी नै छ । विश्लेषण अनुसार आपको बहुमतले यी बाचाहरु पूरा गर्न सजिलो देखिने भएको छ । कर्मचारी प्रशासन तथा सुरक्षा बजेट घटाएर विकास तथा राहत बजेट लागू गर्ने मनस्थितिमा केजरीवाल रहेका छन् । उनले गरिब र बिपन्न परिवारलाई स्वास्थ्य शिक्षा, लगायतका सेवा निःशुल्क दिने सोच बनाएका छन् ।
नागरिकको सेवामा हरेक ठाउँमा गुनासो सुन्ने निकाय पनि राख्दैछन् । दिल्लीबाट भ्रष्ट्राचारलाई पूर्ण रुपमा झाडु लगाउने योजना पनि उनले बनाइसकेका छन् । दिल्लीमा बहुमत ल्याएसँगै केजरीवाल विभिन्न रणनीति ल्याएर जनतासँग गरेका बाचा पूरा गर्न तयारी हालतमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आपले बहुमत आफ्नो पक्षमा लिँदा उसलाई निर्णय प्रक्रियामा कुनै वाधा अवरोध आउने छैन् । अबको पाँच वर्षमा केजरीवालले दिल्लीलाई हरेक क्षेत्रमा तीव्र विकास गर्ने विश्लेषकहरुको अनुमान छ ।
साथसाथै केजरीवालले दिल्लीमा शासन चलाउने त छँदैछन । लोकसभाले दिएको बहुमतबाट प्रधानमन्त्री बनेका नरेन्द्र मोदीलाई शासन चलाउन चुनौती पनि दिनेछन् । बहुमतको सरकार चलाइरहे पनि भाजपाले राजधानीमा विपक्षीको कडा सामना गर्नुपर्नेछ । मोदीले लोकसभा निर्वाचनमा मजाक उडाएको विषयमा पनि केजरीवालले बदला लिनेछन् ।
पाँच वर्षे दिल्ली शासनमा केजरीवालले जनतालाई थप राहत दिने सके भविष्यमै सम्पूर्ण भारतकै केन्द्रीय सरकार चलाउने हैसियतमा पुग्नेछन् । केजरीवालले भविष्यको राजनीतिलाई कसरी अगाडि बढाउनेछन् त्यो हेर्न बाँकी नै छ ।
















प्रतिक्रिया