– टेकराज भण्डारी
अछाम, २८ माघ । संविधानसभामा महाभारतका कौरबको अवरोधले संविधान लेख्न नदिएको नेकपा एमालेका उपाध्यक्ष भीम रावलले बताउनुभएको छ ।
विधि, प्रक्रिया र लोकतन्त्र मान्दैनौं भन्नु कहाँ सम्मको नैतिकता र राजनीतिक धर्म हो भन्दै नेता रावलले देशलाई जातजातिका नाममा विभाजन गरेर जातिय द्धन्दको विजारोपण गर्नेहरु महाभारतका कौरब भएको टिप्पणी गर्नुभयो ।
फागुन ४ गतेसम्म चल्ने अछाम जिल्लाको साँफेबगरमा चौथो साँफेबगर महोत्सवको उद्घाटन गर्दै नेता रावलले तर ती कौरबको सपना पूरा नहुने र पाण्डवको जित भैसकेको भन्दै देशमा संविधान बनेरै छाड्ने दाबी गर्नुभयो ।
एकीकृत माओवादी र मधेशी मार्चा कौरवको भूमिकामा रहेको भन्दै नेता रावलले देशलाई राजनीतिक निकास दिन र नेपाली जनताका सपना पूरा गर्न नदिनेको जनताले नै ठेगान लगाउने बताउनुभयो ।
एक बर्षभित्रै संविधान दिने र ६ महिनामा स्थानीय निकायको चुनाव गराउने प्रतिबद्धता गरेका एकीकृत माओवादी र मधेशी मार्चाले आफैले गरेको प्रतिबद्धता समेत पूरा नगरेको एमाले केन्द्रीय उपाध्यक्ष रावलको भनाई छ ।
आफैले गरेको बाचा पूरा नगर्ने जनतालाई जनप्रतिनिधि, शान्ति र संविधान नदिने यो कस्तो माक्र्सवाद हो ? उहाँकोे प्रतिप्रश्न छ ।
संविधान सभाको प्रश्नावली समितिले तयार गरेको प्रश्नावली एकीकृत माओवादीका नेता अध्यक्ष भएको सम्बाद समितिमा पठाउन, निर्वाचन प्रणाली, शासकीय स्वरुपमा लचक हुन तयार भएको तर तराईलाई अलग्गै पार्ने, पहाडसंग जोड्नै नदिने, जात जातिका नाममा राज्य बाड्ने कुरा गलत छ ।
नेपालको स्वाभीमान, सार्वभौमिकता आँच आउने, लोकतन्त्र, गणतन्त्र कमजोर बनाउने, जनतालाई डर धाक धम्की, युद्ध गर्छु भन्ने कुरा मान्न कुनै हालतमा नेकपा एमाले तयार नरहेको नेता रावलले दृढता व्यक्त गर्नुभयो ।















प्रतिक्रिया