महेन्द्रनगर, २८ माघ । राजनीतिक दलहरुबीच खिचतानी बढिरहँदा नेताहरु भने आरोप-प्रत्यारोप र व्यंग्यमा उत्रिएका छन् । खासगरि, नेकपा एमाले र एमाओवादीका नेताबीच यतिबेला दोहोरी नै चलेको छ ।
पश्चिम नेपालमा आन्दोलनको कमाण्ड गर्न पुगेका एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले बुधबार क्रान्तिकारी पत्रकार संघले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई व्यंग्य गर्नुभएको छ । उहाँले ओलीलाई व्यंग्य गर्दै नयाँ जंगबहादुर राणा बन्ने सपना नदेख्न चेतावनी दिनुभयो । उहाँले बृहत् शान्ति सम्झौता र १२ बुँदे सहमतिमा प्रत्यक्ष रहनुभएका गिरिजाप्रसाद कोइराला नहुँदा पनि सङ्कटमाथि सङ्कट आइरहेको टिप्पणी गर्नुभयो ।
सत्ता साझेदार नेपाली काँग्रेस, नेकपा एमाले तथा विपक्षी एकीकृत नेकपा माओवादी र मधेसवादीदलबीच सहमतिले मात्रै संविधान जारी हुन सक्ने भट्टराईको कथन छ ।
प्रश्नावली समिति भङ्ग गर्न नसकिए स्थगन गरेर भए पनि प्रक्रिया रोक्न आग्रह गर्दै उहाँले एमाले, काँग्रेस वा प्रधानमन्त्री सुशील कोइरालाले सार्वजनिक वक्तव्य जारी गरे आफूहरु वार्ता तथा संवादमा बस्न तयार रहेको बताउनुभयो ।
नेता डा भट्टराईले सबै राजनीतिक दलहरुले आ–आफ्नै अडानमा बसेपनि आधारभूत विषयमा सहमति गर्नुपर्नेमा जोड दिनुभयो । “चार शक्तिबीचको सहमतिमा मात्रै दिगो संविधान जारी हुन्छ ।” भट्टराईले भन्नुभयो– “प्रश्नावली समिति भङ्ग गर्न नसकेपनि स्थगत गरेर सहमतिको वातावरण मिलाउन पर्छ ।”
















प्रतिक्रिया