९ कार्तिक २०८३, सोमबार

उदार मानसिकता नहुँदा एमाओवादी छट्पटीयो : एमाले नेता नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-Nepalबुटवल, २७ माघ । नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीमा उदार मानसिकताको अभावका कारण गलत बाटोमा लागेको बताउनुभएको छ ।

उहाँले उदारवादी नीति अवलम्बन गर्न नसक्दा एमाओवादी छट्पटाइ रहेको समेत बताउनुभयो । दलहरुबीच जुँगाको लडाइँ र प्रतिष्ठाका कारण सहमति बन्न नसकेको र संविधान पनि ल्याउन नसकेको उहाँले बताउनुभयो ।

सहमतिकै नाममा एक वर्षको समय खेर गएको बताउँदै उहाँले संविधान निर्माणका लागि नेपाली काँग्रेस र नेकपा एमाले सकारात्मक भए पनि एमाओवादीसहितका दलहरुको मानसिकता उदार नदेखिएको उल्लेख गर्नुभयो ।

जीवराज आश्रित स्मृति प्रतिष्ठान बुटवलको साधारणसभामा बोल्दै एमाले नेता नेपालले संविधान निर्माणका लागि सहमतिको अधिकतम प्रयास गर्दागर्दै पनि प्रक्रियामा अगाडि बढ्दा अर्को चक्रब्यूहमा फसेको विश्लेषण सुनाउनुभयो ।

“सहमतिका लागि सबै पक्षको उत्सुकता र आतुरता हुनुपर्ने हो,” उहाँले एमाओवादी र मधेसी दलतर्फ लक्ष्यित गर्दै प्रश्न गर्नुभयो – “सहमतिका लागि कहिलेसम्म पर्खिने ?”

मुलुकको भौगोलिक विविधतालाई सम्पत्तिका रुपमा स्वीकार गर्नुपर्ने पनि उहाँले बताउनुभयो । मानिसको फरकफरक स्थानमा फरकफरक पहिचान हुने भएकाले एकल जातीय पहिचानका आधारमा राज्यको विभाजन तथा नामकरण हुन नसक्ने उहाँको भनाइ थियो ।