काठमाडौं, २७ माघ । विभिन्न क्षेत्रबाट भाडा घटाउन दबाब आइरहेका बेला सरकारले सार्बजनिक यातायातका सवारी साधनको भाडा घटाएको छ । पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर ओरालो लागेपछि यातायात व्यवस्था विभागले मंगलबारदेखि लागू हुनेगरी पूरानो समायोजन गरी वैज्ञानिक भाडादर कायम गरेको हो ।
वैज्ञानिक भाडा अनुसार राजधानी काठमाडौं र तराईका जिल्लामा चल्ने सार्बजनिक यातायातका सवारीमा २ दशमलव ३ प्रतिशत मात्रै भाडा घटाइएको छ ।
पहिलेको भाडामा ४७ पैसादेखि ७२ पैसासम्म मात्रै न्युन भाडा घटेको छ । अहिले काठमाडौं उपत्यकामा १३ रुपैयाँदेखि अधिकतम २५ रुपैयाँसम्म भाडा लागू छ ।
पहाडी तथा उच्च पहाडी जिल्लामा चल्ने बसहरुमा ४ दशमलव ३७ प्रतिशत भाडा घटाइएको छ । मिटर जडित ट्याक्सीमा १ दशमलव ६ प्रतिशत र तराई क्षेत्रमा ढुवानी गर्ने ट्रक लगायतका सवारी साधनमा ५ दशमलव २८ प्रतिशत भाडा घटाइएको छ । पहाडतर्फ नारायण पोखरा नारायणगढ काठमाडौं रुटमा ४ दशमलव ३७ प्रतिशत भाडा घटेको छ ।
आजै व्यवस्थापिका संसदको विकास समितिले पनि सार्वजनिक यातायातको भाडा दुई दिनभित्र घटाउन निर्देशन दिएको थियो । विद्यार्थी र उपभोक्ता अधिकारवादीहरुले पनि इन्धनको मूल्य घटे पनि गाडी भाडा नघटाइएको भन्दै आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए ।
थप विवरण हेर्न यातायात व्यवस्था विभागको यो लिंकमा हेर्नुस ।http://www.dotm.gov.np/uploads/articles/files/Bhada_dar_2071_10_26.pdf
















प्रतिक्रिया