काठमाडौँ, २६ माघ । व्यवस्थापिका–संसद्, विकास समितिको बैठकले क्रिकेटको विकास तथा मूलपानीलगायत क्षेत्रमा निर्माण हुन लागेका खेल मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउने निर्माणका कार्यलाई तदारुकता साथ अघि बढाउन सम्बन्धित सरकारी निकायलाई निर्देशन दिएको छ ।
युवा तथा खेलकुद र अर्थ मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट सङ्घका पदाधिकारीको उपस्थिति रहेको बैठकले नेपालको क्रिकेट खेलमा डिभिजन दुईबाट डिभिजन एकमा स्तरोन्नति भएको र निकट भविष्यमा नेपालमा अन्तर्राष्ट्रियस्तरकोे खेल सञ्चालन गर्नुपर्ने भएकाले त्यसका लागि खेल मैदान तयारी हालतमा राख्नुपर्नेबारे छलफल भएको थियो ।
समितिले सो कार्यका सम्बन्धमा सहजताका साथ बजेट निकासा गराउन र प्राप्त बजेटअनुसार खर्च गर्ने क्षमता विकास गरी मर्मतनिर्माणका कार्यमा तदारुकता ल्याउन ती मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिका सभापति रवीन्द्र अधिकारीले क्रिकेट खेलको विकासका लागि राजधानी लगायत नेपालका अन्य महत्वपूर्ण स्थानमा सुविधायुक्त खेल मैदान विकास गर्नका लागि योजनाबद्ध कार्यक्रम सञ्चालन गर्न खेलकुद मन्त्रालयलाई निर्देश गर्नुभयो ।
निकट भविष्यमा सञ्चालन गर्नुपर्ने क्रिकेटको अन्तर्राष्ट्रिय खेल प्रतियोगिताका लागि मूलपानी क्रिकेट मैदान, दशरथ रङ्गशाला, कीर्तिपुर खेलमैदान र पुल्चोक इन्जिनियरिङ क्याम्पस खेल मैदानमध्ये छोटो समयमै विकास, मर्मत सुधार गर्न सकिने खेल मैदान चयन गरी आवश्यक निर्माण कार्यमा शीघ्रता ल्याउन समितिले निर्देश दिएको छ । रासस














प्रतिक्रिया