झापा, २६ माघ । नेकपा एमाले स्थायी समितिका सदस्य शंकर पोखरेलले एकीकृत नेकपा माओवादीले आफ्नो एजेण्डा छाडेर मधेश केन्द्रित दलको एजेण्डा बोकिरहेको आरोप लगाउनुभएको छ ।
एमाले झापाले सोमबारदेखि शान्ति र संविधानका लागि सुरु गरेको १०० दिने जागरण अभियानको उद्घाटन गर्दै उहाँले एमाओवादीलाई आफ्ना पुराना नारा स्मरण गर्न आग्रह गर्नुभयो ।
एमाओवादीले अहिले उठाएको जातीय राज्यको चर्का नारा शान्ति प्रक्रियामा आएपछि मात्रै सुरु गरेको हो भन्दै नेता पोखरेलले जनयुद्धकालमा गठन गरेका तिनका जनसरकारको नाम स्मरण गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘एमाओवादीले आफ्नो राजनीतिक धरातल बिर्सिएको छ, जुन एजेण्डा लिएर पार्टी निर्माण गरेको थियो त्यसलाई चटक्कै बिर्सिएर मधेशी दलहरुको एजेण्डामा हिडिरहेको छ ।’
‘सामान्य बहुमतमा रहँदा पहिलो संविधानसभामा एमाओवादी मतदानमा आतुर थियो तर आज सहमतिको रटान गरिरहनु र दुई तिहाईका विरुद्ध सडक रोज्नु उसले विधि र प्रक्रिया मान्दैन भन्ने प्रष्ट छ । उहाँले भन्नुभयो, ‘अन्तरिम संविधानको भावना केलाउँदा पनि संविधान निर्माणको विधि प्रक्रिया नै हो, दुई तिहाइले निर्णय गर्नुपर्छ र तत्काल कायम रहेका संविधानसभाका सदस्यको दुई तिहाइको हस्ताक्षर हुनुपर्छ ।’
नेपाली कांग्रेससँग कार्यगत एकताको प्रसङ्गमा उहाँले भन्नुभयो, ‘जुन शक्तिसँग परिवर्तनका सन्दर्भमा मिलेर काम गरियो, तिनीहरुबीच कार्यगत एकता चाहिन्छ, अहिले नेपाली कांग्रेससँग भावनात्मक र कार्यगत एकता कायम छ ।’ मुलुक हिंडिरहेको शान्तिमार्ग नेकपा एमालेले कोरेको मार्ग भएकोले यो मार्गमा सबै राजनीतिक दललाई हिडाउन आफूहरु प्रयत्नशील रहने पोखरेलले जिकिर गर्नुभयो ।
अभिमुखीकरण कार्यक्रममा एमाले केन्द्रीय सदस्य हिक्मत कार्की र वैकल्पिक केन्द्रीय सदस्य रविन कोइराला, जिल्ला अध्यक्ष चिन्तन पाठक लगायतले प्रशिक्षण दिनुभएको थियो ।
















प्रतिक्रिया