काठमाडौँ, २६ माघ । नेपालमा लाखौं रुपैंयाको चिठ्ठाको लोभ देखाउँदै ठगी गर्ने विदेशी गिरोह सक्रिय भएको खुलासा भएको छ ।
पच्चीस लाख रुपैंयाको चिठ्ठाको लोभ देखाउँदै सर्लाही पिडारी ७ का पप्पु शेखलाई ठग्ने गिरोह पक्राउ गरेपछि यसको खुलासा भएको हो ।
घटना विवरण अनुसार, माघ १३ गते पप्पु शेखको मोबाइलमा पाकिस्तानी टेलिफोन नम्बर ००९२३००५४६२४८८ बाट ‘तपाईँलाई पच्चीस लाख रुपैंयाको चिठ्ठा पर्यो’ भन्दै फोन आएको थियो । चिठ्ठाबापतको रकम प्राप्त गर्नको लागि गणेशकुमार नामका व्यक्तिको एभरेष्ट बैंककोे खातामा हालिदिनु भनेर फोन आएपछि पप्पुले २५ हजार व्यवस्था गरे । उनलाई फेरि फोन आयो, यसपटक भने २५ हजार मध्ये एकहजार आफै प्रयोग गर्नु अहिलेलाई २४ हजारमात्र राखि दिनु भनेर भनियो । सोही अनुसार, पप्पुले रकम जम्मा गरिदिए ।
केही दिनपछि फेरि सोही पाकिस्तानी नम्बरबाट फोन आयो । २५ लाख प्राप्त गर्नका लागि अर्को १ लाखसम्म बैंकमा जम्मा गर्नुपर्छ भनेपछि पप्पुलाई शंका लाग्यो । आफू ठगिएको शंका लागी उनले अपराध अनुसन्धान महाशाखामा निवेदन दिए ।
प्रहरी अनुसन्धानबाट पत्ता लाग्यो, यो ठगी नै रहेछ । प्रहरीले माघ २२ गते चिठ्ठा भन्दै ठगी कार्यमा संलग्न भारतीय नागरीक मनिष भगतलाई धनुषा जिल्लाको मटिहानी बजारबाट पक्राउ गर्न सफल भयो । भारत बिहारका २३ बर्षीय मनिष यतिबेला प्रहरी हिरासतमा छन् । उनले नेपालबाट रकम जम्मा गरी अशुंमान नाम गरेका उनकै भारतीय साथीलाई रकम निकालेर पठाउने गरेको भेटिएको प्रहरीले जनाएको छ । उनले विभिन्न व्यक्तिको एटिम जम्मा गरी पैसा निकाली भारत पठाएको समेत भेटिएकोले काठमाडौँ प्रहरीले आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाएको छ । ठगीमा संलग्न गिरोहले नेपाल, भारत र पाकिस्तान नागरिक समेतको संलग्नतामा गिरोह चलाएको देखिएको छ ।
















प्रतिक्रिया