काठमाडौँ, २६ माघ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले संघीय प्रदेशको बाँडफाँटमा खेलवाड नगर्न चेतावनी दिनुभएको छ ।
वरिष्ठ पत्रकार र सम्पादकहरुसँग सोमबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले मुलुकले धान्न सक्ने गरी मात्रै प्रदेशको बाँडफाँड गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो – “प्रदेशको बाँडफाँड केटाकेटीको भाँडाकुटी खेल होइन, मुलुकले धान्न सक्ने आधारमा मात्रै राज्य पुनःसंरचना हुनुपर्छ ।”
अध्यक्ष ओलीले राज्य पुनःसंरचनामा जाँदा तराई र पहाडलाई पूर्णरुपमा अलग गर्ने पक्षमा आफ्नो पार्टी नभएको भन्दै तराईलाई पहाडसँग मिसिन नदिने कुरा देश हितमा नरहेको स्पष्ट पार्नुभयो ।
जातीय पहिचानका आधारमा प्रदेश नामकरण गर्दै जातजातिका र तिनका जीवनयापनका समस्या समाधान नहुनेमा पार्टी स्पष्ट रहेका जनाउँदै उहाँले प्रक्रियामा जाँदैमा कुनै पनि दल झस्कनु नपर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले नेपाललाई क्रीडास्थल बनाउने वा सार्वभौमसत्तामा आँच आउन दिने काम एमालेले गर्न नदिने दृढता पनि व्यक्त गर्नुभयो ।
सकेसम्म सहमतीय प्रक्रियाबाट निकट भविष्यमा नयाँ संविधान जारी गरिने ओलीको कथन थियो । उहाँले भन्नुभयो – “एमाले वार्ता र संवादकै पक्षमा छ तर देशलाई टुक्र्याउन नहुनेलगायत केही आधारभूत विषयमा ऊ अडान त्याग्न तयार छैन ।”
उहाँले थप्नुभयो – “हामी जनताको म्याण्डेटअनुसार संविधान जारी गर्ने पक्षमा छौ, अल्पमतले मात्रै त संविधान जारी हुँदैन, त्यसका लागि दुई तिहाइ वा अधिकतम सङ्ख्या चाहिन्छ, ६०१ सभासद्कै बीचमा सहमति भए पनि प्रक्रियामा त जानैपर्छ ।”
संसारमा संविधान र सत्ता चलाउने या त बन्दुकको बाटो या बहुमतको बाटो हुन्छ भन्दै उहाँले माओवादीलाई भन्नुभयो – “तर के कसैले फेरि नेपालमा जनयुद्ध गर्छुभन्दा जनताले पत्याउला ?”
एमाओवादीलाई इंगित गर्दै उहाँले भन्नुभयो – “विगतमा केही शक्तिले ढुङ्गामुढा बगाएर बाढी ल्याएको भए पनि कहिलेकाहीँ खहरे तर्न पनि कठिन हुन्छ भन्ने बिर्सनुहुँदैन । के जनता सधैँ भड्किने र आन्दोलनमा जाने तत्व हो ? के जनताले शान्ति र अधिकार चाहेको होइन र ?”
भारतीय राजदूतसँग तिक्तता बढिरहेको खबर सार्वजनिक भइरहँदा एमाले अध्यक्ष ओलीले नेपाल–भारत सम्बन्ध कसैले बिगार्न खोजे पनि बिग्रन नसक्ने बताउनुभयो । “प्राग्ऐतिहासिक र गहिरो यो सम्बन्धलाई दुई मुलुकको आधारभूत मान्यता जनहित र लोकतन्त्रका पक्षमा उपयोग गर्नुपर्छ । भारतसँगको हाम्रो सम्बन्ध सधैँ राम्रो छ र फेरि पनि राम्रो रहनेछ ।”
छलफलमा एमाले उपाध्यक्ष वामदेव गौतमले आफूहरुले वार्ताका लागि गरिरहेको आग्रहलाई कमजोरी नठान्न आग्रह गर्नुभयो । उहाँले शान्ति प्रक्रियामा आएका एमाओवादीलाई भागेर जङ्गल पस्न नदिने र समातेर राख्ने कोसिस गरिरहेको बताउनुभयो ।
कार्यक्रममा एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी, महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली, केन्द्रीय सदस्य सूर्य थापासहित वरिष्ठ पत्रकारहरुको उपस्थिति थियो ।
















प्रतिक्रिया