काठमाडौँ, २६ माघ । एमाओवादी नेतृत्वको मोर्चामा आबद्ध ३० दलीय गठबन्धनले यथास्थितिमा वार्तामा नबस्ने निर्णय गरेको छ ।
एमाओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा सोमबार विहान बसेको संविधानसभाभित्र र बाहिरका एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धनको बैठकले निर्णायक वार्ताको लागि प्रधानमन्त्रीले अर्को पत्र पठाउनुपर्ने निर्णय गरेको हो । प्रधानमन्त्री सुशील कोइरालाको आइतबारको आह्वान सकारात्मक रहे पनि वक्तव्य अधुरो, अस्पष्ट, अर्मूत रहेको बैठकले ठहर गरेको छ ।
प्रधानमन्त्रीको आह्वानमा १२ बुँदे समझदारी, अन्तरिम संविधान र अहिलेसम्मका उपलब्धिलाई संस्थागत गर्ने प्रतिबद्धता नजाएकोले अर्को पत्र पठाउनुपर्ने एमाओवादी गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले बताउनुभयो । सत्तारुढ दलबाट सार्थक एवम् विश्वसनीय वातावरण नबनेसम्म आफूहरुले अघि सारेको आन्दोलनलाई यथावत राख्ने निर्णय गरेको सिंहले जानकारी दिनुभयो ।
यसअघि आइतबार प्रधानमन्त्री सुशील कोइरालाले विपक्षी मोर्चालाई वार्ताको लागि लिखित रुपमै आह्वान गर्नुभएको थियो । प्रधानमन्त्रीको आह्वानपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा एमाओवादीले सोमबार बिहान गठबन्धनमा सहभागी दलको बैठक बोलाएको थियो । एमाओवादी मोर्चाको नयाँ अडानले राजनीतिक गतिरोध झनै बढ्ने सम्भावना बढेको छ ।
















प्रतिक्रिया