काठमाडौं, २६ माघ । एकीकृत नेकपा माओवादीले विवादास्पद छविका ल्हारक्याल लामालाई सभासद बनाएको छ।
समानुपातिकबाट सभासद बनाइएका शम्भु पासवान हजारीको सटट उनलाई एमाओवादीले सभासद् बनाएको हो । राष्ट्रिय दलित आयोगको सदस्य पदमा बहाल रहेकै अवस्थामा राजीनामा स्वीकृत नगराई पासवान सभासद भएपछि उनको पद सर्वोच्च अदालतले खारेज गरेको थियो।
काँग्रेस हुँदै एमाले बनेका लामा संविधानसभा निर्वाचन अगाडि एमाओवादी बनेका थिए । एमालेका तत्कालिन अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्री बनाएपछि त्यतिबेला चौतर्फी बिरोध भएको थियो । तिब्बती धर्म गुरुका सहयोगी र दोहोरो नागरिकता भएको भनी चर्को आलोचना खेपेपछि लामाले राज्यमन्त्री पदबाट राजीनामा समेत दिएका थिए ।
सभासद् बन्न करौँडौंको खेल
लामा सभासद् बन्नकै लागि एमालेबाट एमाओवादीमा प्रवेश गरेका थिए । एमालेले अल्पसंख्यक हेल्मो समुदायको प्रतिनिधित्व हुने गरी एकपटकलाई सभासद् बन्ने मौका दिए पनि लामा फेरि सभासद् बन्नका लागि करोडौँ रकम बोकेर हिँडेका थिए । लामालाई समानुपातिक सभासद् बनाएको विरोधमा एमालेका तत्कालिन नेता केपी शर्मा ओलीले आपत्ति जनाएका थिए भने त्यतिबेलै जिल्लाका नेता शेरबहादुर तामाङ, टासी लामालगायतले पार्टी कार्यालयमा धर्ना दिएका थिए।
विवादकै बीच सभासद् बनेपनि दोस्रोपटक पनि सभासद बन्न संविधानसभा निर्वाचन अघि एमालेका तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपाललाई पैसाको आश्वासन बोकेर पुगेका लामालाई एमाले नेता नेपालले ठाडै अस्वीकार गरी पठाएका थिए । त्यसपछि उनी एमाओवादीमा पुगे ।
एमाओवादीमा पुगेपछि पनि करोडभन्दा माथि रकम बुझाएर उनी एमाओवादीको समानुपातिक सूचीमा नाम चढाउन सफल भएका थिए । तर, सभासद् बन्ने अवस्था सिर्जना नभएपछि केही दिन अर्धभूमिगत बने ।
एमाओवादीले उनलाई पैसा लिएर मुस्ताङकी टासी स्याङ्मो गुरुङसेनीसँगै पार्टी प्रवेश गराएर सभासदको सूचीमा राखेको थियो । ल्हारक्याललाई समानुपातिकको सूचीमा राखेको विषयलाई लिएर त्यतिबेला एमाओवादीभित्रै चर्को आलोचना भएको थियो । तर, ढिलै भएपनि उनको लगानी उठेको स्रोतको दाबी छ ।
लामाका पाँच नाम
यसो त ल्हारक्याल लामाको पाँच वटा नाम भेटिएको छ । पटकपटक उनले राज्यलाई समेत नाम ढाँटेर विभिन्न कागजात बनाएको खुलासा भएको छ। उनीसँग नेपाली नागरिकता, भारतीय राहदानी र तिब्बती शरणार्थी परिचयपत्र समेत भेटिएको छ । जसमा फरक फरक नाम छ ।
गृहजिल्ला सिन्धुपाल्चोकबाट २०५० माघ १८ मा लिइएको नागरिकतामा उनको नाम ल्हारक्याल लामा छ। प्रमुख जिल्ला अधिकारी ध्रुवराज वाग्लेको हस्ताक्षर रहेको ४८/६३७९८ नम्बर नागरिकतामा लामाको जन्ममिति २०२१ मंसिर १३ उल्लेख छ। ०३४ तिर हेलम्बुमा गरिएको नाबालक नाम दर्ता रेकर्डमा भने उनले लाकेल शेर्पा नाम लेखाएका छन्। त्यतिबेला उनले आफू १२ वर्षको उल्लेख गरेर उमेर पनि ढाँटेका रहेछन्। ०६३ साउन ३० गते उनले नागरिकता प्रतिलिपि लिएको प्रशासनमा रेकर्ड छ।
लामाले सन् २००० मा काठमाडौं-६ बौद्ध ठेगाना र जन्ममिति सन् जुलाई २९ उल्लेख गरेर परराष्ट्र मन्त्रालयबाट मिस्टर वाङचुक रिम्पोछेका नाममा ११२१५८८ नम्बरको राहदानी लिएका छन्। खेम्पो छिमे छिरिङका नाममा लामाले राष्ट्रियता ‘भारतीय’, जन्मस्थान भारत कुलिगल र जन्ममिति सन् १९६५ अक्टुबर १ उल्लेख गरी सन् १९९८ जुन १२ मा गुवाहाटीबाट ‘ए’-२१२९८१२ नम्बरको भारतीय राहदानी लिएका थिए।
लामाले सन् १९६९ मा तिब्बती नागरिकको हैसियतमा भारतको मैसुरबाट लामा छिमे छिरिङ नामबाट शरणार्थी परिचयपत्र लिएको आरोपसमेत गृहको उजुरीमा थियो।
लामाविरुद्ध २०६२ वैशाख ६ गते गृह मन्त्रालयमा राष्ट्रियता, नाम, ठेगाना र उमेर ढाँटेर नेपाल र भारतबाट राहदानी तथा तिब्बती शरणार्थी परिचयपत्र लिएको लगायत दस आरोपसहित उजुरी परेको थियो।
















प्रतिक्रिया