लहान, २५ माघ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तापक्षले बहुमतीय प्रक्रियालाई खारेज नगरे देशमा द्वन्द्वको अवस्था सिर्जना हुने बताउनुभएको छ । उहाँले प्रक्रिया रोकेर सहमतिबाटै संविधान निर्माणको विश्वासिलो वातावरण नबनाए मुलुक द्वन्द्वमा फस्न सक्ने बताउनुभएको हो ।
सत्तापक्षबाट सहमतिकै आधारमा संविधान निर्माण गर्ने विश्वासिलो वातावरण बनाए आफूहरु वार्तामा बस्न तयार रहेको उहाँको भनाई छ । जिल्लाको विकास निर्माण योजनाबारे सिरहाका कार्यालय प्रमुखहरुसँग छलफल गर्न सिरहा सदरमुकाम आइपुग्नुभएका अध्यक्ष दाहालले आइतबार सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै भन्नुभयो – “हामी वार्तामा जाँदैनौँ भनेका छैनौँ, वार्ताको वातावरण बने हामी वार्तामा बस्न तयार छौँ ।”
सहमतिकै आधारमा संविधान बनाउँछौँ भनेर सरकारको तर्फबाट प्रधानमन्त्रीले वक्तव्यमार्फत भन्नुप¥यो वा सरकारको तर्फबाट त्यो आधारमा पत्र काटेमा वार्ताको वातावरण बन्ने उहाँको कथन थियो ।
विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधानको भावना विपरीत संविधानसभामा बहुमतीय प्रक्रिया सुरु गर्नु दुर्भाग्यपूर्ण भएको बताउनुहुँदै अध्यक्ष दाहालले सत्तापक्षले बहुमतीय प्रक्रियालाई रोकेर सहमतिबाटै संविधान निर्माणको विश्वासिलो वातावरण नबनाए मुलुक द्वन्द्वमा फस्न सक्ने धारणा राख्नु भयो ।
राजनीतिक दलहरुबीच केही मतमतान्तरहरु भए पनि अन्तिममा सहमतिमा पुग्ने नेपाली राजनीतिको विगतको परम्परा नै देखिएको उल्लेख गर्नुहुँदै उहाँले वर्तमान गतिरोध पनि सहमतिबाटै टुङ्गिने दाबी गर्नुभयो ।
















प्रतिक्रिया