२ कार्तिक २०८३, सोमबार

एमाओवादीका पश्चिम कमाण्डर बाबुराम भट्टराईले बाँकेमा के भने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburam-bhattarai– कृष्ण आचार्य 

बाँके, २५ माघ । एकीकृत नेकपा माओवादीले थालेको आन्दोलन कार्यक्रम अन्तर्गत पश्चिम कमाण्डर तोकिएका वरिष्ठ नेता बाबुराम भट्टराईले मध्यपश्चिम क्षेत्रको बाँके जिल्लामा सम्बोधन गरेका छन् ।

बाँकेमा आइतबार कार्यकर्तालाई सम्बोधन गर्दै भट्टराईले संविधानसभामा प्रतिक्रियावादी तत्वहरुले शासन चलाउन खोजेको आरोप लगाउनुभएको छ ।

सहमतिबाटै संविधान बनाउन चाहेको बताउदै उहाँले षड्यन्त्रकारीहरु भरिएको संविधानसभाले आफूहरुलाई पेल्न खोजेकाले माघ ८ मा संविधान बन्न नसकेको बताउनुभयो ।

‘सहमतिबाटै जाउँ भन्दा हामीलाई संविधानसभाका ठेकेदारले पेलेर वाहिर जनतामाझ जान बाध्य बनाए,’ उहाँले भन्नुभयो, ‘अब हामी जनताको आदेश लिएर मात्रै फर्कन्छौ ।’

सत्तारुढ दलहरुले अगाडी बढाएको प्रक्रियाको कुनै औचित्य नभएको बताउदै उहाँले तत्काल खारेज गरेर सहमतिको बाटोमा आउन आग्रह समेत गर्नभयो ।

भट्टराईले दुई तिहाइको दम्भबाट संविधान निर्माण गर्न खोजिए त्यसले मुलुकमा राजनीतिक सङ्कट चुलिने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो – “दोस्रो जनआन्दोलन र जनयुद्धको उपलब्धिको रक्षाका लागि सहमतिबाटै संविधान लेखिनुपर्छ ।”

उहाँले क्रान्तिको मुद्दा छाडेर जस्तो पायो त्यस्तो संविधान लेख्न खोजिएको होइन भन्दै मिलेर संविधान लेखौँ, सहमति खोजौं, छलफल गरौँ भन्नुभयो । आफ्नो दल संविधानसभाबाट भागेको छैन, संविधानसभाबाट संविधान लेख्नुपर्छ भन्ने पक्षमा नै छ भन्दै नेता भट्टराईले तर, एकपक्षीय बलमिच्यार्इंबाट संविधान जारी गर्न खोजिए आन्दोलनबाहेक अरु विकल्प आफूहरुसँग नरहने बताउनुभयो ।

संविधान सभामा विभिन्न विषयमा असहमति जनाउदै आन्दोलनको तयारीमा जुटेको एकीकृत नेकपा माओवादीले पश्चिम केन्द्रीय कमाण्डको प्रशिक्षण पनि दिएको छ ।

एमाओवादीका वरिष्ठ नेता भट्टराईले बाँकेको चिसापानीमा मध्यक्षेत्रका १५ बढी जिल्लाका नेता कार्यकर्ताबीच पश्चिम केन्द्रीय कमाण्ड प्रशिक्षण समेत दिनुभएको थियो ।

एमाओवादी संरचना अन्तर्गतका पश्चिम मगरात, भेरी कर्णाली, थारुवान लगायतका राज्यवाट नेता, कार्यकर्ताहरु प्रशिक्षणमा सहभागी भएका थिए । वरिष्ठ नेता भट्टराई बांकेको कार्यक्रम सकेर आइतबारै सुदुरपश्चिमतिर लाग्नुभएको छ ।