– प्रदीप परियार
झापा, २४ माघ । अपहरणको नाटक गरी आफ्नै साथीलाई अपहरण गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । गत माघ १८ गते संगै व्यवसाय गर्दै सुनिलकुमार विन्दललाई फकाएर बजरंग पन्सारीले अज्ञात समुहबाट अपहरण गराएका थिए ।
माघ १८ गतेदेखि अपहरणमा परेका बिर्तामोडका अलैँची व्यवसायी सुनिलकुमार विन्दललाई प्रहरीले ५ दिपछि अपहरणमुक्त गरेको छ ।
प्रहरीको विशेष सुराकीबाट घटनाबारे जानकारी पाएपछि अञ्चल प्रहरी कार्यालय मेची, जिल्ला प्रहरी कार्यालय झापा र क्षेत्रीय प्रहरी कर्यालय विराटनगरको संयुक्त टोलीले अपरणमा परेका विन्दललाई सकुशल अपहरण मुक्त गराएको हो ।
गत आइतबार मेची नगरपालिका–१० काँकरभिट्टाबाट साँझदेखि सम्पर्कविहीन भएका विन्दललाई प्रहरीले धरमपुर–५ स्थित हर्क कन्दङ्वाको घरमा फेला पारेको हो । विन्दलको अपहरणमा उनीसँगै अपरणमा परेका भनिएका बजरंग पन्सारी विन्दल अपहरण प्रकरणको मुख्य योजनाकार भएको प्रहरीले जनाएको छ ।
अपहरण गर्ने मेचीनगरपालिका–१० का पन्सारीसँगै प्रहरीले बिर्तामोड–७ विर्ताबजारका केशव फुँयाल, कोक्राझार जिल्ला अडियाबारी आसामका राजकुमार थापा, चिराङ आसाम भारतका फौद तामाङ र झापा धरमपुर–३ पारावारीका भुवन कार्कीलाई पक्राउ गरेको छ ।
सादा पोशाकमा खटिएका प्रहरीको दुई वटा टोलीले विन्दललाई मुक्त गराउने क्रममा अपहरणकारीबीच भएको भिडन्तमा सहायक प्रहरी निरीक्षक र अपहरणकारी फौद तामाङ घाइते भएका छन् । घटनास्थलमा ७ राउण्ड गोली समेत चलेको थियो ।
उनीहरुको उपचार बिर्तामोडमा भइरहेको छ । अपहरणकारी समूह भारतको आतङ्कवादी संगठनसँग तालमेल गर्दै नेपालमा दशकौदेखि यस्ता कार्यमा संलग्न भएको प्रहरीको अनुमान छ । ठुलाठुला व्यापारीलाई अपहरण गर्ने र फिरौती लिँदै छोड्ने यस समूहले हत्या गर्ने नगरेको स्रोतले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले पाँच थान मोबाइल, दुईनाल पेस्तोल, बरामद गरेको छ ।
प्रहरीले अनुसन्धानमा अनुभवी प्रहरी, अनुसन्धानकर्ता र वैज्ञानिक स्रोत र साधनको प्रयोग गरी अपहरणकारीलाई पक्राउ गर्न सफल भएको हो । नेपाल प्रहरी र भारतीय प्रहरीका विभिन्न ईकाइसँग समेत समन्वय गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शुक्रबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै घटनाबारे जानकारी गराइएको थियो । अपहरणकारी पक्राउ गर्न प्रहरी सफल भएपछि व्यवसायी र स्थानीयबासीले नेपाल प्रहरी जिन्दावाद भन्दै नारा समेत लगाएका थिए ।
















प्रतिक्रिया