काठमाडौं, २४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आफू नै पार्टीको वैधानिक अध्यक्ष भएको दाबी गर्नुभएको छ ।
भक्तपुरको लोकन्थलीस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता चन्दले अहिले पनि राप्रपाको वैधानिक अध्यक्ष भएको दाबी गर्नुभएको हो ।
राप्रपाको महाधिवेशनले पार्टी नेतृत्व चक्रीय प्रणालीमा जाने निर्णयअनुसार सूर्यबहादुर थापा पछि आफू नै अध्यक्ष भएको दाबी गर्दै चन्दले यसबारे कसैलाई भ्रम भए विशेष महाधिवेशन बोलाई कार्यकर्ताबाट सत्यतथ्य छिनोफानो गर्न आफू तयार रहेको बताउनुभयो ।
उहाँले अध्यक्ष बनाइएका राणाले पार्टीको आफू नै अध्यक्ष हुँ भन्दै अराजक र अनधिकृत रुपमा महाधिवेशनको म्यान्डेट विपरीत कार्यकर्तालाई धम्की दिँदै कारबाही गरेको भन्दै आपत्ति जनाउनुभयो ।
राणाले आफूलाई पार्टीको अध्यक्ष घोषणा गरिएको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा राणाले गरेको कारबाही मान्य नहुने समेत बताउनुभयो ।
राप्रपालाई दुरुपयोग गर्ने संस्कृति र अरू दलको पुच्छर बनाउने प्रयासको भत्सर्ना गर्दै नेता चन्दले भन्नुभयो—“राप्रपाले लिएको मन्त्रालयअन्तर्गत ग्यासको अभाव हुनुले आफूहरुलाई लज्जाबोध भएको छ ।”
राष्ट्रिय राजनीतिमा देखिएको गतिरोधबारे बोल्दै उहाँले काँग्रेस-एमाले र एमाओवादी-मधेस केन्द्रित दललाई संविधान निर्माणकोे क्रममा सहमति भएका बुँदाहरुमा संविधान लेखन जारी गर्न र असहमति भएका विषयमा थप समय लिएर सहमति निर्माण गर्न सुझाव दिनुभयो ।
देश राजनीतिक सङ्कटतर्फ उन्मुख भएकामा चिन्ता ब्यक्त गर्दै उहाँले उच्चस्तरीय राजनैतिक संयन्त्रको बैठक अविलम्ब सम्बन्धित संयोजकले बोलाउनुपर्नेमा जोड दिनुभयो । राप्रपाको दृष्टिकोणमा सबै धर्मप्रति सम्मान र सद्भाव राख्ने आदर्शमा उभिएर नेपाललाई सनातन धर्मसापेक्ष राष्ट्रका रुपमा कायम गर्नुपर्नेमा जोड दिनुभयो ।















प्रतिक्रिया