काठमाडौँ, २३ माघ । पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्य निरन्तर घटेपछि सरकारले सार्वजनिक यातायातको भाडा घटाउदै छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक मधुसूदन बुर्लाकोटीले भोली आइतबारदेखि लागू हुनेगरी सार्वजनिक यातायातको भाडा घटाउने तयारी भइरहेको जानकारी दिनुभयो ।
पेट्रोलियम पदार्थको मूल्य निरन्तर घट्दा पनि सवारीसाधनको भाडा नघटेको भन्दै विद्यार्थी सङ्गठनहरुले आन्दोलन गर्ने चेतावनी दिएपछि महानिर्देशक बुर्लाकोटीले सरकारले भाडा घटायने विषयमा छलफल गरिरहेको बताउनुभयो ।
ज्ञापनपत्रमा विद्यार्थीले सार्वजनिक यातायातको भाडा घटाउन माग गरेको र यदि त्यसो हुन नसके आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
ज्ञापनपत्रमा डेढ महिनाको अवधिमा डिजेलको मूल्य प्रतिलिटर रु ६ घटिसकेकोले सार्वजनिक यातायातको भाडा दरसहितको नागरिक बडापत्र सार्वजनिक स्थलमा राख्न, यातायात सेवा सुरक्षित र भरपर्दो बनाउन तथा ४५ प्रतिशत विद्यार्थी सहुलियत पूर्णरुपले लागू गर्न माग गरिएको छ ।
यस्तै, सत्तारुढ दलका विद्यार्थी संगठनले पनि तत्काल भाडा घटाउन माग गरिसकेका छन् ।















प्रतिक्रिया