२ कार्तिक २०८३, सोमबार

झापामा विद्यालय बीचैमा छाड्ने १२ प्रतिशत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमक, २४ माघ । विद्यालय भर्ना भएका १०० मध्ये १२ जना विद्यार्थीले विद्यालय तहको पढाइ पूरा नगरी छाड्ने गरेका पाइएको छ ।

गत वर्षको तुलनाभन्दा पछिल्ला वर्ष यसरी विद्यालय बीचमा छाड्ने क्रम घट्दै गएको जिल्ला शिक्षा कार्यालयको एक तथ्याङ्कले देखाएको छ ।

शिक्षा कार्यालयका उपसचिव उद्धव विष्टले अघिल्ला वर्षहरुमा करिब १५ प्रतिशत ‘ड्रप आउट’ हुने गरेको भए पनि अहिले यो दर घटेर १२ प्रतिशतमा पुगेको जानकारी दिनुभयो ।

“आर्थिक रुपमा कमजोर परिवारका विद्यार्थीले बीचैमा पढाइ छाडेको देखिन्छ,” उपसचिव विष्ट भन्नुहुन्छ, “यो वास्तवमा निक्कै चिन्ताको विषय हो ।” झापामा विद्यालय जाने उमेरका तीन प्रतिशत बालबालिका अझै पनि विद्यालयको पहँच बाहिर रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

“अहिले हामीले विद्यालयमा बालबालिका भर्ना गर्ने अभियानलाई तल्लो तहसम्म प्रभावकारी ढङ्गबाट सञ्चालन गरेका कारण दुई प्रतिशत घटेको छ, यसलाई शून्यमा झार्ने यस वर्षको लक्ष्य हो,” विष्टले बताउनुभयो । विद्यालय छाड्नेमा अधिकांश आदिवासी समुदायका बालबालिका रहेको जनाइएको छ ।

बिहान बेलुकाको छाँक टार्न बाबुआमा अर्काको खेतीपातीमा काम गर्न जाने गरेका र साना बालबालिकालाई हेरचाह गर्नु परेकाले स्कुल छाड्ने क्रम देखिएको अभिभावक सङ्घ झापाका कोषाध्यक्ष सदपेन्द्र दाहालले बताउनुभयो ।