काठमाडौँ, २२ माघ । उद्योगमन्त्री महेश बस्नेतले जनचाहनालाई लत्याएर आन्दोलनमा जाने राजनीतिक शक्तिहरु समाप्त हुने दाबी गर्नुभएको छ ।
मन्त्री बस्नेतले आर्थिक, सामाजिक रुपान्तरण तथा उद्योगको विकासबिना अबको क्रान्ति सम्भव नभएको बताउनुभएको छ ।
उद्यमशीलता विकास तालिमको विहीवार समापन गर्दै उहाँले भन्नुभयो, “ आर्थिक, सामाजिक रुपान्तरणबिना राजनीतिक क्रान्ति सम्भव छैन । वर्तमान समाजको क्रान्ति भनेको व्यापक रुपमा रोजगारी र उद्यमशीलता हो ।”
मन्त्री बस्नेतले नेपाली समाजमा औद्योगिक चेतनाको कमी रहेको उल्लेख गर्दै वर्तमान शिक्षा प्रणाली उद्योगी र उद्यमी उत्पादनभन्दा कारिन्दा उत्पादन गर्ने दिशातर्फ उन्मुख रहेको विचार व्यक्त गर्नुभयो ।
फरक प्रसङ्गमा मन्त्री बस्नेतले संविधानसभामा दलबीच देखिएको विवाद जनताको चाहना र आवश्यकता विपरीत भएको टिप्पणी गर्दै जनचाहनालाई लत्याएर आन्दोलनमा जाने राजनीतिक शक्ति समयको बहावसँगै समाप्त हुने दाबी गर्नुभयो ।















प्रतिक्रिया