– विश्वराज पछल्डङ्ग्या
नेपालगन्ज, २२ माघ । भारतले सीमानामा बनाइरहेको सडकले नेपालगन्ज उप–महानगरपालिका सहित बाँकेका १५ वटा गाविस डुवानमा पर्ने वितरण बाँकेका प्रमुख जिल्ला अधिकारी बेदप्रकाश लेखकले गृह मन्त्रालयमा पठाएका छन् ।
भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी)को प्रत्यक्ष निगरानीमा निर्माण भइरहेको सो सडकले पश्चिम तर्फको राधापुर गाविसदेखि कटकुइँया गाविस सम्म डुवान पर्ने भएको छ ।
साइगाउँ, हिरिमिनिया, भगवानपुर, होलिया, वेतहनी, बनकटटी, कम्दी, भत्तेपुर, गंगापुर, मटेहिया, नरैनापुर, लक्ष्मणपुर, कालाफाँटा, कटकुइँया गाविसका अधिकांश गाउँ डुबानमा पर्ने जोखिमसहितको विवरण गृह मन्त्रालयमा पठाइएको प्रजिअ लेखकले जानकारी दिए ।
साइगाउँदेखि कटकुुइँयासम्म नै दशगजाको समानान्तर रुपमा सडक निर्माण भइरहेको विवरणमा उल्लेख छ । बर्दिया आएका गृहमन्त्री बामदेव गौतमले समेत सीमामा सडक बन्दै गरेको कुरालाई चासोका विवरण लिएर गएको प्रजिअ लेखकले बताए ।
‘गृहमन्त्री स्वयम्ले चासो देखाएर विवरण लिएर जानु भएको छ’– प्रजिअ लेखकले भने । अन्तर्राष्ट्रिय मान्यता विपरित निर्माण भएको सडकका बारेमा आगामी माघ २७ र २८ गते पोखरामा हुन गइरहेको नेपाल–भारतका उच्च अधिकारीका वीच कुरा राख्ने तयारी गरिएको उनले जानकारी दिए ।
भारत सरकारको केन्द्रीय योजना अनुसार उत्तर प्रदेशको पब्लिक वर्क डिपार्टमेन्टले दश गजा क्षेत्रमा रहेका सीमास्तम्भ केन्द्र बिन्दु मानेर सडक निर्माण गरिरहेको छ ।
पहिलो चरणको २१ किलोमिटर सडक दशगजाबाट ५ देखि १० मिटर छेउ छेउबाट करिब २.५ मिटर अग्लो र ३० मिटर चौडाई सडक निर्माण भइरहेको छ । सो सडकमा ७ मिटर चौडा कालोपत्रे समेत गरिने स्रोतले जनाएको छ ।
















प्रतिक्रिया