काठमाडौँ, २२ माघ । राप्रपा नेपालको नाराबाजी र अवरोधका बाबजुद संविधानसभाको विहीवारको बैठकले प्रश्नावली प्रस्ताव निर्माण समितिको म्याद थप गरेको छ ।
बैठकले पाँचदिन भित्र प्रश्नावली बनाइसक्नुपर्ने निर्देशन सहित म्याद थपेको हो । समितिका ज्येष्ठ सदस्य कुलबहादुर गुरुङले समितिले तदारुताका साथ आफ्नो काम अगाडि बढाइरहेको तर संविधानका अन्तर्वस्तुमा प्रश्नावली निर्माणलगायत काम पूरा गर्न पाँच दिनको समय अपर्याप्त भएको भन्दै अरु पाँच दिन थप्नेसम्बन्धी प्रस्ताव सभामा प्रस्तुत गर्नुभएको थियो ।
गुरुङले प्रस्तुत गरेको उक्त प्रस्ताव सर्वसम्मतिले सभाले स्वीकृत गर्यो । प्रस्ताव प्रस्तुत गर्न रोस्ट्रममा जानु भएका गुरुङ राप्रपा नेपालको नाराबाजी र अवरोधका कारण केहीबेर रोकिनुभएको थियो ।
सो प्रस्ताव नाराबाजी र होहल्लाबीच पारित भएको थियो । त्यसअघि प्रस्ताव समिति गठन नेपालको अन्तरिम संविधान २०६३ र संविधानसभा नियमावली २०७० विपरीत भएको र आफूले सङ्घीयता, धर्मनिरपेक्षता, राजसंस्थाका बारेमा राप्रपा नेपालको अभिमतको सुनुवाइ नभएको आरोप लगाउँदै राप्रपा नेपालले नाराबाजी गरेको थियो ।
समितिको कार्याविधि थपसम्बन्धी प्रस्ताव गर्ने क्रममा गुरुङले समितिबाट कार्यविधि पारित गरिएको जानकारी गराउनुभएको थियो । उहाँले समितिको बैठक तीन पटक बसेको उल्लेख गर्दै रमेश लेखकको संयोजकत्वमा प्रश्नावली निर्माण उपसमिति गठन गरिएको र त्यसले काम अगाडि बढाइरहेको बताउँदै समय थपको प्रस्ताव गर्नुभएको थियो ।
यसअघि बैठकले प्रश्नावली समितिको सदस्यमा नेपाली जनता दलका हरिचरण साहलाई थप गरेको थियो । यही माघ ११ गते गठित सो समितिमा थप गर्न बाँकी रहेका सदस्यमा साहलाई थप गरिएको संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले जानकारी गराउनुभएको थियो । कुल ७३ सदस्यीय प्रस्ताव समिति माघ ११ गते ४९ सदस्यीय बनाइएको थियो ।
















प्रतिक्रिया