२ कार्तिक २०८३, सोमबार

मुद्दाको चाप घटाउन अदालतमा सन्ध्याकालिन सेवा सञ्चालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Court photo (1)

बाँके, २१ माघ । विचाराधिन मद्दाको चापलाई कम गर्न बाँके जिल्ला अदालतले सन्ध्याकालिन सेवा संचालन गरेको छ । यसअघि विहान साढे १० वजेदेखि बेलुकी ५ वजेसम्म सेवा दिँदै आएको अदालतले थप डेढ घण्टा सेवा बढाएको हो ।

जिल्ला न्यायाधीश हरिप्रताप केसीले दिउँसोको समयमा गर्न नसकिएको काम साँझपख गर्ने गरि सेवा समय थप गरिएको जानकारी दिए । सन्ध्याकालिन सेवामा मुद्दाको सुनुवाई भने नहुने भएको छ । न्यायाधीश केसीले भने–‘सन्ध्याकालिन सेवामा म्याद थप र अधिकृत वारिसनामा काममात्रै हुने छ ।’ कामको प्रकृति हेरेर समय थप गर्न सकिने उनको भनाई छ ।

अदालतका मौजुदा कर्मचारीले नै सन्ध्याकालिन सेवा दिने जानकारी दिँदै न्यायाधीश अम्मरराज पौडेलले दिउँसो गर्न नसकिएका र सेवाग्राहीले ल्याउन ढिला गरेका काम साँझको समयमा गरिने बताए । यसले सेवाग्राहीले छिटो सेवा पाउने र अदालतलाई कामको बोझ कम हुने आशा गरिएको छ ।

‘कार्यालय समयमा काम नसकिदा कामको बोझ थुप्रिने हुन्थ्यो’–न्यायाधीश पौडेलले भने । बाँके जिल्ला अदालतका अनुसार बाँके सँगै रुपन्देहीमा पनि सन्ध्याकालिन सेवा संचालनमा आएको छ भने काठमाडौं र ललितपुरमा यसअघि नै सेवा संचालन भइसकेको थियो ।

यसैवीच बाँके जिल्ला अदालतले सर्वसाधारण नागरिकसँगै पत्रकारसँग नियमित अन्तर सम्बाद गर्ने भएको छ । नियमित अन्तर सम्बाद कार्यक्रमका क्रममा आयोजित कार्यक्रममा बोल्दै न्यायाधीश केसीले एक जना न्यायाधीशले पाँचसय मुद्दा हेर्नुपर्ने बाध्यता भएको बताए ।

मुद्दाको चाप अनुसार कर्मचारीको ब्यवस्था नभएको बताउँदै उनले जिल्ला अदालतले पनि सूचना प्रविधिको प्रयोग गर्न थालेको बताए । ‘अनलाइन, एसएमएस सेवा र अनलाइन म्याद तामेली सेवा, सर्बोच्च र पुनरावेदन अदालतका हकमा गत पौषदेखि बाँके जिल्ला अदालतबाट समेत प्राप्त गर्न सकिने गरि लागू भइसकेको छ’–उनले भने–‘हालसम्म ११ वटा यस्ता म्यादहरु तामेल गरि पठाइएको र हाल सर्वोच्च अदालतबाट दैनिकजसो यस्ता म्यादहरु प्राप्त भइरहेका तथा तामेली भइरहेका छन् ।’

सो अवसरमा बाँके जिल्ला अदालतले संचालनमा ल्याएको टेली इन्क्वाइरीको बारेमा समेत जानकारी दिइएको थियो । पैसा नलाग्ने १६१८०८१५२०२७० नं. टेली इन्क्वाइरीमा फोन गर्दा अदालतले दिने सेवा सुविधा र सेवाग्राहीले पालना गर्नुपर्ने नियमको बारेमा जानकारी लिन सकिने न्यायाधीश पौडेलले बताए ।

न्यायाधीश प्रति सर्वसाधारणको नकारात्मक बुझाइलाई मेटाउन बाँके जिल्ला अदालतले प्रत्येक १५ दिनमा सेवाग्राहीसँग अन्तर सम्बाद पनि गर्न थालेको छ ।

अन्तर सम्बादका क्रममा न्यायाधीशले सेवाग्राहीलाई भेटेर सेवाको गुणस्तरियता, गुनासो र समस्याको बारेमा जानाकारी लिने गरिएको अदालतका श्रेस्तेदार आत्मादेव जोशीले जानकारी दिए ।

‘सर्वसाधारणलाई भेटेर समस्या, सेवाको प्रभावकारिता र काउन्सिल गर्ने कामको सुरुवात गरिएको छ’–उनले भने ।