काठमाडौँ, २१ माघ । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्ड संयोजक रहेको ३० दलिय मोर्चाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘मानसिक सन्तुलन’ गुमाएको आरोप लगाएको छ । साथै सरकारसंग ‘मानसिक सन्तुलन’ जाँच गराउन माग समेत गरेको छ ।
बुधबार बैठकपछि एमाओवादी नेतृत्वको संघिय लोकतान्त्रिक मोर्चाले विज्ञप्ती जारी गर्दै ३० दलिय मोर्चामा आवद्ध दलहरुलाई १० अरब दिए पुग्छ भन्ने एमाले अध्यक्ष ओलीको अभिव्यक्तीको भत्र्सना गर्दै ‘मानसिक सन्तुलन’ गुमाएकाले यस्तो भनाइ आएको ठहर गरेको छ ।
शारीरिकरुपमा मात्रै नभई मानसिक रुपमा समेत एमाले अध्यक्ष ओलीले सन्तुलन गुमाएको भन्दै तत्काल उपचार व्यवस्था गर्न सरकारसँग माग समेत गरेको छ ।
३० दलिय मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले बैठकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुको आन्दोलनप्रति गरेको टिप्पणीमा असन्तुष्टी जनाएको जानकारी दिनुभयो । ‘एमालेका अध्यक्ष ओलीले ‘मानसिक सन्तुलन’ गुमाएर हामीहरुलाई गलत आरोप लगाएर जनताका सामु लज्जित बनाउने काम गरे,’ उनले भने, ‘त्यसकारण हामी यो निर्णयमा पुग्यौ की तुरुन्त सरकारले उपचार व्यवस्था गर्नुपर्छ ।’
‘उहाँ शारीरिकरुपमा मात्रै नभई मानसिक रुपमा समेत असन्तुलन भएको गम्भीर आशंका उत्पन्न भएको हुनाले उहाँको शीघ्र उपचारको व्यवस्था गर्न नेपाल सरकारसँग माग गर्दछौं ।
साथै आवश्यक स्वास्थ्य परीक्षण पश्चात उहाँको स्वास्थ्य स्थिति सामान्य भएको प्रमाणित भएमा उहाँले उठाएको विषयमा उच्चस्तरीय छानविन आयोग गठन गरी यसको सत्य–तथ्य सार्वजनिक गर्न समेत यो बैठकले माग गर्दछ ।’ मोर्चाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, एमाओवादी नेतृत्वको सङ्घीय लोकतान्त्रिक गठबन्धनको बैठकले माघ २२ गते बोलाइएको संविधानसभाको बैठक तीव्र विरोध हुँदा हुँदै अगाडि बढाइएकाले उक्त कदम नसच्याएसम्म भाग नलिने निर्णय गरेको छ ।
















प्रतिक्रिया