– जङ्ग योञ्जन तामाङ
पाँचथर, २० माघ । पानी पर्ने वित्तिकै पाँचथर कारागारका कैदी र थुनुवाहरुलाई सुत्न समस्या हुने गरेको छ ।
कारागार कार्यालयको छानामा जस्तापाताबाट बनाएको पानी बग्ने नाली चुहने हुँदा कैदी र थुनुवाहरुलाई सुत्न समस्या हुने गरेको हो । कारागारका चौकीदार टेकनाथ रिजालले पानी परेको रात जाग्राम हुने अवस्था रहेको बताउँनुभयो । ‘हामीले दुई नालीमध्ये एउटा बनायौँ, उहाँले भन्नुभयो–अब एउटा बाँकी छ ।’
यस अघिका वर्षयामहरु कैदीहरुले निक्कै कठिनाईका साथ बिताएको उहाँको अनुभव छ । अब वर्षायाम सुरु हुन लागेसँगै कैदी र थुनुवाहरुमा चिन्ता बढ्न थालेको हो । खाट माथि, मुनी र चिसो प्यासेजमा खाँदिएर सुत्नुपर्ने बाध्यता रहेको कारागारको समस्या समाधानका लागि कारागार प्रशासनसँग माग गरेको कैदी र थुनुवाहरुले बताएका छन् ।
यससँगै कारागारमा रहेको पाँच वटा शौचालयको सेप्टी ट्याङकीलाई व्यवस्थित गरिएको छैन । सेप्टी ट्याङकी भरिएर आसपासको क्षेत्रमा दुर्गन्ध फैलिएको स्थानीयले गुनासो गरेका छन् । कारागारबाट निस्केको फोहोर पानीलाई पनि व्यवस्थापन नगरिँदा सडक हिलाम्मे हुने गरेको छ ।
तर निमित्त जेलर पिताम्बर नेपालले यी समस्याहरुको समाधानमा कारागार प्रशासन गम्भिर भएको बताउँनुभएको छ । २०३० सालमा निर्माण गरिएको २० पुरुष र ५ महिला गरी २५ जना क्षमताको कारागारमा अहिले ५७ जना थुनुवा र १ सय ७ जना कैदी सहित दुई जना वालवालिका छन् ।
अदालतले मुद्दाको फैसला गर्न ढिलाई गर्ने हुँदा कारागारमा कैदी र थुनुवाहरुको चाप बढेको बताइएको छ ।















प्रतिक्रिया