महेन्द्रनगर, २० माघ । कञ्चनपुरमा पहिलोपटक मनाइएको सिमसार दिवसमा संरक्षण रणनीति बनाइएको छ ।
‘हाम्रो भविष्यका लागी सिमसार’ भन्ने नाराका कञ्चनपुरको कृष्णपुर गाविसमा आयोजना गरिएको सिमसार दिवस कार्यक्रममा जिल्ला वन समन्वय समितिले गड्बिजला सामुदायिक वनको समन्वयमा वन वन्यजन्तु संरक्षणका लागि रणनीति बनाएको हो ।
रणनीति अनुसार युवाहरुले सामुहिक गस्ती गर्ने, वृक्षारोपण तिव्र बनाउने, वन्यजन्तुको वासस्थान विनाश हुनबाट जोगाउने, वासस्थानको अनुसन्धान गरी थप संरक्षणका योजना तयार गर्ने, सिमसार क्षेत्रमा हरियाली बनाउने लगायतका १० बुँदे निर्णय गरिएको छ ।
जिल्ला वन समन्वय समिति कञ्चनपुरमा अध्यक्ष महेशदत्त जोशीले वन तथा वन्यजन्तु संरक्षणका रणनीति तयार पारिएको बताउनुभयो । ‘समुदायकै पहलमा संरक्षण गर्न सकिने भएकाले रणनीतिमा समुदायलाई जोड दिएका छौं,’ उहाँले भन्नुभयो । रणनीति अनुसार फागुनदेखि संरक्षणका कामहरु सुरु गरिनेछन् ।
सहायक जिल्ला वन अधिकृत विरबहादुर ठगुन्नाले रणनीतिले समुदायहरु संरक्षणका लागि एकजुट भएको सन्देश दिएको बताउनुभयो । ‘स्थानियहरु आफै संरक्षणमा जुटे वातावरण हराभरा हुनेछ । जलवायु परिवर्तनको असर कम हुनेछ ।’ उहाँले भन्नुभयो, ‘सामुदायिक वन समुदायको नै धन हो । वनको संरक्षणमा उपभोक्ताले नै लाग्नु पर्छ । अब बैज्ञानिक तरिकाले वनहरुको व्यवस्थापन गर्नुपर्छ ।’
उहाँले पछिल्लो समय तालहरु मासिदै गएकाले सिमसार क्षेत्रको संरक्षणमा ध्यान दिन आग्रह गर्नुभयो । सिमसार दिवसका अवसरमा गड्विजला सामुदायिक वनको कार्यालय भवनको उद्घाटन थियो ।
कार्यक्रममा ग्रीन युथ नेपालका केन्द्रीय सचिव अर्जुनसिंह साउँदले संरक्षणका लागि युवाहरु एकजुट हुनुपर्ने बताउनुभयो । ‘सिमसार क्षेत्रलाई पर्यटनको रुपमा विकास गर्न सक्नुपर्छ, तब मात्रै संरक्षण गरेको सार्थक हुनेछ ।’















प्रतिक्रिया