काठमाडौँ, २० माघ । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेले २०४७ सालको संविधान ल्याउन खोजेको आरोप लगाउनुभएको छ ।
उहाँले सत्तापक्षका दलबाट २०४७ सालको संविधान ल्याउन षड्यन्त्र भइराखेकाले त्यसविरुद्ध आन्दोलन सुरु गरिएको बताउनुभयो । ‘परिवर्नतलाई लत्याएर पुँजीपतिलाई प्रश्रय दिने पुरानै संविधान ल्याउने षड्यन्त्र भइराखेको छ,’ वरिष्ठ नेता भट्टराईले भन्नुभयो, ‘त्यसका विरुद्ध अब सशक्त आन्दोलन हुन्छ, उत्पीडित वर्ग एकजुट हुनपर्छ ।’
एनेकपा माओवादी दलित, उत्पीडित, विपन्न र श्रमजीवी जनताको पार्टी भएको भन्दै उहाँले मुक्तीका लागि जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताउनुभयो ।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनको आठौँ वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता भट्टराईले संविधानसभामा अगाडी बढाइएको प्रश्नावली समिति तत्काल खारेज गर्नुपर्नेमा पनि जोड दिनुभयो । ‘विगतको जनयुद्ध, क्रान्ति, परिवर्तनलाई पेलेर जान खोजे देश दुर्घटनातिर जान्छ,’ उहाँले भन्नुभयो, ‘सबै दलले सहमतिबाटै संविधानको बाटो खोलुपर्ने उहाँको धारणा थियो ।
कार्यक्रममा जनताको करबाट तलब खाने कर्मचारीले राजनीतिक पार्टीको चाकरी गर्न नहुने धारणा उहाँले राख्नुभयो । कर्मचारी प्रशासनमा सरुवा, बढुवाका लागि दलका नेताले भागबन्डा गर्ने गरेको आरोप लगाउँदै एनेकपा माओवादी दलित, उत्पीडित, विपन्न र श्रमजीवी जनताको पार्टी भएको भन्दै यसको मुक्तिका लागि सधैँ लड्न तयार रहेकोे उहाँको भनाई थियो ।
एनेकपा माओवादीका महासचिव कृष्णबहादुर महराले राज्यलाई रुपान्तरण गर्ने पार्टी एनेकपा माओवादी भएको भन्दै परिवर्तनको एजेन्डामा सबैलाई एकजुट हुन आग्रह गर्नुभयो । ‘सहमति नै सर्वपरि मान्यता हो, सहमतिबाटै अगाडी बढ्नुपर्छ, उहाँले भन्नुभयो, अन्यथा सत्तारुढ दल जिम्मेवार हुनेछन् ।’















प्रतिक्रिया