काठमाडौं, २० माघ । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनप्रति सरकार र मिडिया व्यवस्थापनले गम्भीरता नदेखाएकोमा आक्रोश व्यक्त गर्दै तत्काल कार्यान्वयन प्रक्रिया सुरु नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।
महासंघले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका सन्दर्भमा विभिन्न संघ संगठनका प्रतिनिधि र पत्रकारहरूबीच मंगलबार राजधानीमा गरेको कार्यक्रममा सहभागीहरूले महासंघले अब छलफलमा आन्दोलनको तयारी गर्नुपर्ने सुझाव दिएपछि त्यस्तो धारणा सार्वजनिक गरेको हो ।
कार्यक्रममा महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका निम्ति सरकार, मिडिया व्यवस्थापन र सम्बन्धित संस्थाहरूसँग चरणवद्धरुपमा छलफल गरे पनि कार्यान्वयमा गम्भीरता नदेखाएको भन्दै असन्तुष्टी जनाउनुभयो ।
उहाँले अब महासंघले सरकारको सम्बन्धित मन्त्रालय, संसदको सम्बन्धित समिति, मिडिया व्यवस्थापनका नेतृत्वदायी संगठनका साथै प्रेस काउन्सिल, न्यूनतम पारिश्रमिक निर्धारण समिति र प्रेस रजिष्ट्रारसँग तत्काल निर्णायक छलफल र आन्दोलनको तयारीलाई सँगसँगै अघि बढाउने बताउनुभयो ।
कार्यक्रममा महासंघका पूर्वअध्यक्ष सुरेश आचार्यले मिडियाको वर्गीकरण गरी राष्ट्रिय मिडियामा ऐनको पूर्ण कार्यान्वयनलाई केन्द्रित गर्नुपर्ने बताउनुभयो । प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्याल र क्रान्तिकारी पत्रकार संघका अध्यक्ष गोविन्द आचार्यले महासंघले सुरु गर्ने आन्दोलनमा साथ, समर्थन र ऐक्यवद्धता रहने बताउनुभयो ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य रामप्रसाद दाहाल र पत्रकार राजेश अहिराजले ऐनलाई समय सान्दर्भिक बनाएर कार्यान्वयनमा लैजाँदा अझ प्रभावकारी हुने धारणा राख्नुभयो ।















प्रतिक्रिया