– आनन्द पोखरेल
भरतपुर, २० माघ । पूर्व पश्चिम राजमार्गको टिकौली जङ्गलमा ट्रक र एम्बुलेन्स एक आपसमा जुध्दा दुई जनाको ज्यान गएको छ ।
भरतपुर उपमहानगरपालिका वडा नम्बर १२ मा पर्ने टिकौली जङ्गलमा सोमबार साँझ नारायणगढबाट हेटौँडा तर्फ जाँदै गरेको ना ३ ख ३१९९ नम्बरको ट्रक र रत्ननगरबाट भरतपुर तर्फ आउँदै गरेको ना २ च ५४५४ नम्बरको एम्बुलेन्स एक आपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा परी एम्बुलेन्स चालक २८ वर्षीय यज्ञ कुमार श्रेष्ठ र अर्का अन्दाजी २२ वर्षिय नाम थर नखुलेका पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन अधिकारीले एम्बुलेन्सले ठेलालाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको बताए । दुर्घटनामा परी ठेला चालक घादिङ बाहुनडाँडा घर भई हाल भरतपुर – ११ बस्ने वर्ष ५२ का रामबहादुर परियार सामान्य घाइते भएको अधिकारीले जानकारी दिए ।
उक्त दुर्घटनामा परी एम्बुलेन्समा सवार अन्दाजी ४० वर्षीया महिला गम्भीर घाइते भएकी प्रहरीले बताएको छ । उनको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ । घाइते भएकी महिलाको टाउकोमा गम्भीर चोट लागेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए ।
‘घटनाको प्रकृति र ट्रक चालकको भनाइ अनुसार भरतपुर तर्फ आउँदै गरेको एम्बुलेन्स आफ्नो लेन छोडेर ट्रकमा ठोक्किएको हो’ अधिकारीले भने, –‘मृत्यु हुने दुवै जना र घाइते भएकी महिला एम्बुलेन्समा सवार थिए ।’ एपोलो अस्पताल रत्ननगरको एम्बुलेन्सले बिरामी बोकेर भरतपुर तर्फ आउँदै गर्दा दुर्घटना भएको अधिकारीले जानकारी दिए । हाल ट्रक र २४ वर्षीय ट्रक चालक उज्वल थापा प्रहरीको नियन्त्रणमा रहेको अधिकारीले जानकारी दिए ।















प्रतिक्रिया