३ कार्तिक २०८३, मंगलबार

सत्तारुढ कांग्रेस र एमालेले सहमति चाहेनन्ः अध्यक्ष प्रचण्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachandaकाठमाडौँ, २० माघ । सत्तारुढ दल कांग्रेस एमालेले सहमति नचाहेकाले संविधान बन्न नसकेको एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आरोप लगाउनुभएको छ ।  प्रचण्डले सहमतिबाट संविधान बन्ने सम्भावना लगभग अन्त्य भएकाले सडक आन्दोलनलाई प्रभावकारी बनाउनुपर्नेमा समेत बताउनुभयो ।

कार्यकर्तालाई प्रशिक्षण दिदै उहाँले विगतको सहमति तथा सम्झौतालाई सरकारमा रहेका दलले आफुखुसी तोडेका कारण सहमतिको सम्भावना सकिएको बताउनुभयो ।

शान्ति सम्झौताको हस्ताक्षरकर्तालाई पेलेर नै ठीक गर्न सकिन्छ भन्ने मानसिकता सत्तारुढ दलले नत्यागेसम्म सम्वाद र सहमतिको कुनै पनि अर्थ नरहेको उहाँको जिकिर थियो ।

सम्वाद तथा सहमतिको प्रक्रिया अगाडि बढ्ने वा नबढ्ने भन्ने विषय सत्ताधारी दलको कोर्टमा रहेको भन्दै अध्यक्ष दाहालले भन्नुभयो,‘संविधानसभामा यही माघ ११ गते भएको गलत अभ्यास सच्याएर जान नेपाली काँग्रेस र नेकपा एमाले अग्रसर भए हामी वार्ताका लागि अझै तयार छौँ, अन्यथा जनतामा जानुको विकल्प रहँदैन ।’’

उहाँले सहमति कुन विषयमा हुन सकेन, विगतमा सम्झौता के के हुन् र कुन रुपमा पार्टी अगाडि बढेको हो भन्ने बारेमा जनतालाई स्पष्ट जानकारी दिन समेत कार्यकर्तालाई निर्देशन दिनुभयो ।

जनताको अधिकार स्थापित गर्नेभन्दा अरु कुनै पनि स्वार्थ पार्टीसँग नभएकाले गलत मनसायका साथ संविधानसभालाई अल्पमत र बहुमतको खेलमा डुबाइएको उहाँको कथन थियो ।

अध्यक्ष दाहालले पार्टीको शीर्ष नेता आन्दोलनका लागि तयार भइसकेको जानकारी दिँदै सबै तह तथा तप्काका नेता तथा कार्यकर्ता एकताबद्ध भएर जनताको बीचमा जान र सत्तारुढ दलको गलत क्रियाकलापको आलोचना गर्न समेत आग्रह गर्नुभयो ।

उहाँले आफूहरुले कहिल्यै पनि जातीय राज्यको वकालत नगरेको तर सबै जातजातिलाई अधिकार सम्पन्न बनाउनुपर्छ भन्ने मान्यतामात्र राखेको भएपनि त्यसको गलत प्रचार भएकोमा आक्रोश व्यक्त गर्दै पश्चगामी सोच राख्नेहरु पराजित हुनेछन् भन्नुभयो ।

एमाओवादीले यसअघि सहमतिका आधारमा संविधान बन्ने सम्भावना सकिएको भन्दै आन्दोलनमा जाने निर्णय गरेको थियो । शीर्ष नेतृत्वलाई विभिन्न क्षेत्रको आन्दोलन परिचालनको जिम्मा समेत दिएको थियो ।