पोखरा, १९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत नेकपा माओवादीले धम्की दिँदैमा तर्सिनुपर्ने कुनै जरुरी नभएको बताउनुभएको छ ।
देशको अहितमा हुन लागेको आन्दोलनलाई जनताले साथ नदिने भन्दै एमाओवादीको धम्कीले तर्साउनु व्यर्थ हो भन्नुभयो । ‘आफूले भनेको कुरा मात्रै सहमति हो भन्ने ठान्ने’ एकीकृत नेकपा माओवादीले धम्की दिँदैमा तर्सिनुपर्ने कुनै जरुरी छैन भन्दै अध्यक्ष ओलीले एमाओवादी अझैँ पनि सम्हालिन सकेन भने अर्को निर्वाचनमा दुई/चार सिट पनि ल्याउन नसक्ने चेतावनी दिनुभयो ।
उहाँले दोस्रो संविधानसभालाई असफल हुन नदिइने र संविधानसभाबाटै नयाँ संविधान जारी गरी छाड्ने दृढता व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको राष्ट्रिय परिषद् बैठक उद्घाटन गर्न पोखरा पुग्नुभएका अध्यक्ष आलीले यसका लागि नेपाली काँग्रेसलगायत अन्य शक्तिसँग एकताबद्ध भएर अघि बढ्ने र नेपाली जनतालाई अप्ठ्यारो हुने काम हुन नदिने गरी एमालेले नेतृत्व गर्ने बताउनुभयो ।
“एक सय पच्चीस जातजाति भएको हाम्रो देशमा जातीयताका आधारमा प्रदेश विभाजन गरिए मुलुकले रुवान्डा, सुडान र नाइजेरियाको जस्तो स्थिति भोग्नुपर्छ, देशमा जातीय कलह, विग्रह र युद्ध निम्त्याउन खोज्ने तत्वसँग सावधान हुनु जरुरी छ” उहाँले भन्नुभयो ।
उहाँले प्रदेश बनाउँदा राज्यले धान्न सक्ने गरी थोरै बनाइनुपर्नेमा जोड दिँदै भन्नुभयो –“क्रान्ति जनताको अग्रगामी हितका लागि हुनुपर्छ, जालझेल, तिकडम र उत्पात मच्चाउने कामका लागि भने कदापि हुन सक्तैन । ”
एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले देशमा सङ्कटको स्थिति पैदा गरी राष्ट्रिय एकता र शान्ति खल्बलाउने काममा केही शक्ति लागेकाले जनता सचेत हुनुपर्ने धारणा राख्नुभयो । पछिल्लो समय एमाले अध्यक्ष ओली र एमाओवादी अध्यक्ष प्रचण्डबीच विभिन्न कार्यक्रममा एकअर्काको आलोचना गर्दै आएका छन् ।















प्रतिक्रिया