काठमाडौँ, १९ माघ । नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले संविधान आउन अर्को माघ पर्खिनुनपर्ने बताउनुभएको छ ।
रिपोर्टर्स क्लबद्वारा सोमबार आयोजित कार्यक्रममा उहाँले संविधानसभामा संविधान निर्माणको प्रक्रियालाई अगाडि बढिसकेकाले यो प्रक्रियालाई निरन्तर अगाडि बढाइने र यसै सिलसिलामा नयाँ संविधान आउने जिकिर गर्नुभयो ।
सभासद् रावलले भन्नुभयो, “यति मितिमै संविधान आउँछ भनेर समय नतोकौं, संविधान जारी गर्ने प्रक्रिया आरम्भ भइसकेको छ, हामी यो प्रक्रियालाई पूरा गरेर छिटो छिटो संविधान निर्माण सम्पन्न गरेर जनतालाई संविधान दिनेछौँ ।”
सोही कार्यक्रममा मधेसी जनअधिकार फोरम नेपाल गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले सहमतिबाटै संविधान निर्माण हुनुपर्नेमा जोड दिँदै विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाका लागि तीसदलीय मोर्चाको घोषित आन्दोलनलाई सशक्त बनाउने तथा मधेसमा हुने आन्दोलनलाई व्यवस्थित गरेर लैजाने मधेसी मोर्चाको निर्णय भएको जानकारी दिनुभयो । रासस















प्रतिक्रिया