
काठमाडौँ, १९ माघ । नेपाली सेनामा निकै शक्तिशाली मानिने बलाधिकृत रथी पबनबहादुर पाँडेले आजबाट अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ ।
उमेर हदका कारण उहाँले अनिवार्य अवकाश पाउन लाग्नुभएको हो । सेवावधि बढाउन गरेका प्रयास बिफल भएपछि पाँडे निराश हुँदै अवकाश लिँदै हुनुहुन्छ । नेपाली सेनाको स्थापित प्रचलनविपरीत एक दिन पनि बिदा नबसी अन्तिमसम्मै कार्यालयमा हाजिर भएर राजनीतिक दल र सरकारसँग उमेर हद बढाउन ठूलो प्रयत्न गर्नुभएको थियो । नेपाली सेनाको पुनर्ढांचा प्रस्ताव केही समयका लागि अल्झेपछि त्यसको एनेक्समा एउटा बुँदा थप गरी रथी दर्जाको उमेर ५९ वर्ष पुराउन प्रयास गरिएको थियो।
उहाँको पक्षमा प्रधानमन्त्री सुशील कोइराला समेत नरम देखिनुभएको थियो । नियमले मिल्ने भए गरौं भन्दै प्रधानमन्त्रीले लचकता देखाए पनि प्रधानमन्त्रीको प्रयास समेत सफल हुन सकेन । सेनापति र प्रधानमन्त्रीको सम्बन्ध सुमधुर नभएपनि रथीको उमेर हद बढाउने खेलमा सरकारका अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता डा रामशरण महत लाग्नुभएको थियो । महत र पाँडे पनि नाताले सम्धी हुन् । रथीको उमेर हद बढाउने तयारी भइरहेको बेला सहयोगका लागी पाँडे निकटस्थहरुले एमाले अध्यक्ष केपी ओलीलाई समेत पटकपटक भेट गरी सहयोगको लागी आग्रह गरेका थिए ।
क्षेत्री भावी प्रधानसेनापतिका एक्ला हकदार
पाँडेको समयावधि नथपिएपछि उहाँको ठाउँमा उपरथी राजेन्द्र क्षेत्रीको बढुवा हुने निश्चित भएको छ । भावी सेनापतिका रुपमा लिइएका क्षेत्रीलाई यसै साता सरकारले बढुवा गर्ने तयारी थालेको स्रोतले बतायो ।
वर्तमान प्रधानसेनापति गौरवशमशेर राणाले आगामी भदौ १० गते अवकाश पाउँदै हुनुहुन्छ । नेपाली सेनाको भावी प्रधानसेनापती को हुने भन्ने विषय अझै स्पष्ट नभएपनि नियमित प्रक्रिया नतोडिए हालका उपरथी राजेन्द्र क्षेत्री राणापछिको प्रधानसेनापति हुने बताइएको छ । सेनामा हालसम्म बरिष्ठतालाई आधार बनाएर नै नेतृत्व चयन गर्ने परम्परा भएकाले पनि क्षेत्रीको सम्भावना बलियो रहेको छ । स्वच्छ छवी र संगठनमा लोकप्रिय क्षेत्रीको सिंगो परिवार सेनामा कार्यरत छ । उहाँका दाई पूर्व सैनिक प्रवक्ता उपरथी रमिन्द्र क्षेत्री पनि सेनामा नै कार्यरत हुनुहुन्छ भने भाई रतिन्द्र खत्रीले पनि महासेनानीबाट केही समयअघि मात्र अवकाश पाउनुभएको यिथो ।















प्रतिक्रिया