पोखरा, १८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत नेकपा माओवादीले सत्ता साझेदार नेपाली काँग्रेस र एमालेलाई फुटाउन खोजेको आरोप लगाउनुभएको छ ।
प्रेस चौतारी नेपाल कास्कीले पोखराले सोमबार आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष ओलीले भन्नुभयो, “दुवै पार्टी संविधान बनाउन एकसाथ अघि बढेका छौँ, कसैले ललिपप दिँदैमा मख्ख पर्ने हामी होइनौँ ।”
एमाले अहिले सरकार परिवर्तनको खेलमा नलागेको बताउँदै उहाँले पार्टीको एक मात्रै अर्जुनदृष्टि संविधान निर्माण हो, भन्नुभयो ।
संविधान बनाउन सहयोगका लागि सबैसँग आग्रह गरिने तर घुर्की लगाएर संविधानसभा छोडेर जानेलाई भने फर्काउन नसकिने ओलीको कथन छ ।
धम्क्याउँदै र थर्काउँदैमा नेपाली जनता आन्दोलनमा नआउने अध्यक्ष ओलीले धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “नेपाली जनता ब्यारेकका सिपाइ होइनन्, सिटी बजाउँदैमा खुर्र दौडेर सडकमा आउँदैनन् ।”
प्रेस चौतारी कास्कीका अध्यक्ष श्याम कुँवरले संविधान निर्माणका लागि दलहरु गम्भीर बन्न आग्रह गर्दै ओलीको ध्यानाकर्षण गराउनुभएको थियो ।
















प्रतिक्रिया