काठमाडौँ, १८ माघ । एकीकृत नेकपा माओवादीले आन्दोलन गर्न जनताका घरमा जाने निर्णयसंगै मधेशी दलहरुको मोर्चाले पनि आन्दोलनमै जाने निर्णय गरेको छ । मधेशी मोर्चाले भने सशक्त आन्दोलन गर्ने निर्णय गरेको हो ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ३० दलीय गठबन्धनले घोषणा गरेको आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको छ ।
सद्भावना पार्टीको कार्यालयमा आइतबार बसेको मोर्चाको बैठकले आन्दोलनलाई सफल बनाउन सबै नेता कार्यकर्तालाई जिल्लामा खटाउने भएको छ ।
मोर्चाको एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले गठबन्धनद्वारा घोषित आन्दोलनका कार्यक्रमलाई प्रभावकारी बनाउने र त्यसको तयारीका लागि नेतालाई जिल्लामा पठाउने निर्णय गरेको जानकारी दिनुभयो ।
केहीदिनयता मोर्चाभित्र देखिएको खटपटबारेको जिज्ञासामा उहाँले भन्नुभयो, “मोर्चामा कुनै विवाद छैन, जहाँसम्म मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्षजीसँग जोडिएको कुरा छ, त्यो उहाँको व्यक्तिगत धारणा हो, जुन उहाँले बैठकमा प्रष्ट पार्दै व्यक्तिगत धारणाबाट आत्तिनुपर्दैन भन्नुभएको छ ।”
आन्दोलनसँगै वार्ता र संवादको ढोका बन्द नगर्ने, त्यसका लागि नेपाली काँग्रेस र एमालेले सहमतिको वातावरण बनाउनुपर्नेमा मोर्चाले जोड दिएको छ ।
माओवादीले पनि आन्दोलनका लागि शिर्ष नेतालाई जिल्ला पठाउने तयारी गरिसकेको छ । मधेशी मोर्चाले एमाओवादीकै आन्दोलनमा एकेबद्धता जनाएको एक नेताले बताए ।















प्रतिक्रिया