काठमाडौं, १८ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले धर्म निरपेक्षता र संघीयतालाई पनि प्रश्नावली समितिमा समावेश गर्नुपर्ने माग राखेपछि संविधानसभाले हिजो गठन गरेको प्रश्नावली निर्माण उपसमितिको बैठक स्थिगित भएको छ ।
आइतबार बिहान बसेको बैठकमा राप्रपा नेपालले गणतन्त्र, धर्म निरपेक्षता र संघीयताका विषयलाई पनि प्रश्नावलीमा राख्नुपर्ने माग गरेको थियो ।
बैठक यी विषयमा विवाद भएपछि बैठक विनानिष्कर्ष सकिएको थियो । पहिलो संविधानसभाको पहिलो बैठकबाट पारित भएका संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता र समावेशिताको प्रतिकुल नहुने गरी असहमतिका विषयमा सैद्धान्तिक प्रश्नावली सहितको प्रस्ताव निर्माण गर्ने भन्ने वाक्यांशमा राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले बैठकमा असहमति जनाएका थिए ।
कांग्रेस, एमाले लगायतका दलले अन्तरिम संविधानमा नै उल्लेख भएर सबैले स्वीकार गरेको विषय भएकाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विषय प्रश्नावलीमा राख्नु आवश्यक नभएको बताएका छन् ।
यस विषयमा विवाद भएपछि बैठक दिउँसो साढे १२ वजेसम्मका लागि स्थगित गरिएको संयोजक रमेश लेखकले जानका्री दिनुभयो । राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले आफुहरुको विषयलाई प्रश्नावलीमा उल्लेख नगरे नोट अफ डिसेन्ट लेख्ने तयारी गरेका छन् । एमाओवादी सहमतिमा नआइरहेका बेला राप्रपा नेपालले पनि आफ्नो माग अघि सारेको छ ।















प्रतिक्रिया