ललितपुर, १७ माघ । नेपाल–भारत सीमाक्षेत्रका दुई विवादित ठाउँ कालापानी र सुस्ता नेपाकै भुमि भएको उर्जामन्त्री राधा ज्ञवालीले बताउनुभएको छ ।
ललितपुरमा भएको एक कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै मन्त्री ज्ञवालीले नेपाल र भारतको सीमामा पर्ने कालापानी र नवलपरासीको सुस्तामा सीमा विवाद भएको र त्यो नेपालको भूमि रहेकाले नछाडिने पनि बताउनुभएको हो ।
‘नेपालको भुमि कब्जा गर्नेलाई छोड्नुहुदैन्, सबैले हातेमालो गरी आफ्नो भुमिको सुरक्षा गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि सबै नेपाली तयार एकजुट हुनु जरुरी छ ।’
उहाँले देशमा केही विखण्डनकारीले नेपालीलाई भड्काउन खाजिरहेको बताउदै सबै नेपाली एकजुट हुनुपर्नेमा उहाँको जोड थियो ।
पहिलो संविधानसभाबाट नेपाली जनतालाई संविधान दिन नसके पनि दोस्रो संविधानसभाबाट ढिलो चाँडो सङ्घीय लोकतान्त्रिक संविधान दिने मन्त्री ज्ञवालीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
संविधानसभाबाट जनतालाई संविधान दिएर छाड्ने बताउँदै सभाबाट रित्तो हात नफर्कने मन्त्री ज्ञवालीको भनाई छ । नेपालको समग्र विकासका लागि सङ्घीयतासहितको संविधान आवश्यक भएको उल्लेख गर्दै एक मधेस एक प्रदेशसहितको संविधान मान्य नहुने उहाँले बताउनुभयो ।
ज्ञवालीले एनेकपा—माओवादीतर्फ कटाक्ष गर्दै एकल पहिचानको आधारमा संविधान निर्माण गर्नुपर्ने मित्रहरुको दबाबका कारण पहिलो संविधानसभाले संविधान दिन नसकेकोप्रति आक्रोस पनि पोख्नुभयो ।
ऊर्जामन्त्री ज्ञवालीले देशमा भइरहेको विद्युत्भार कटौती बाध्यकारी भएको बताउनुभयो । उहाँले विश्वको ऊर्जा क्षेत्रमा नेपाल दोस्रो धनी राष्ट्र भएर पनि समस्याको समाधान हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो ।
नेपालमा भएको जलस्रोतबाट ८३ हजार मेगावाट विद्युत् उत्पादन गर्न सक्ने सामथ्र्य रहेर पनि त्यसको सदुपयोग गर्न नसकेर आम नेपाली विद्युत्भार कटौतीको मारमा परेको मन्त्री ज्ञवालीको तर्क रहेको थियो ।
उहाँले आर्थिक विकासका लागि ऊर्जा क्षेत्रको विकास हुनसकेमा विदेशिएका नेपाली युवालाई यहीँ रोजगारी सिर्जना गर्न सकिने बताउँदै राजनीतिक स्थिरताले मात्र ऊर्जा क्षेत्रको विकास हुने उल्लेख गर्नुभयो ।
वर्तमान सरकारको उद्देश्य देशलाई समृद्ध मुलुक निर्माण गर्नु रहेको र यसबाट मात्र शैक्षिक, स्वास्थ्य, प्रविधिलगायतको विकास सम्भव भएकोमा मन्त्री ज्ञवालीको जोड रहेको थियो ।















प्रतिक्रिया