काठमाडौँ, १७ माघ । बसन्तपुरस्थित महादेव पार्वती पूजा व्यवस्थापन समितिले २४ कन्याको सामूहिक वेलविवाह शनिवार गराएको छ ।
नेवारी समुदायमा रजस्वला हुनु अगाडि कन्याको वेलविवाह गर्ने चलन छ, सामूहिकरुपमा गर्दा कम खर्चमा पूजाको विधि गर्न सकिन्छ ।
कन्याले विधिपूर्वक पीठ, कुमारी, नारायणको पूजा गरी चामल, कपडा, पैसा सुवर्ण नारायणलाई चढाएका थिए । समितिका पूजारी वसन्तप्रसाद रिमालले सो विवाहमा कन्याले पवित्र भई विशेषगरी नारायणलाई पूजा गर्ने तथा वेललाई कन्याको प्रतीककारुपमा मानेर नारायणसँग कन्यादान गरी कन्यालाई घर फर्काउने जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा विभिन्न तन्त्र विधि तथा वैदिक मन्त्रोञ्चारण गरी कन्याको पुण्य तथा समृद्धिको कामना गरिएको थियो । विसं २०४९ देखि नै पूजारी रिमालले सोही स्थानमा यस किसिमको पूजा समय समयमा गराउँदै आउनुभएको छ ।
विवाह भएपछि कन्या तथा अभिभावकले खानपिनलगायत कार्यमा चोखो नीति गर्नुपर्ने हुन्छ । कार्यक्रममा सहभागी कन्याका आफन्त तथा शुभेच्छुकले कन्यालाई विभिन्न फलफूल, मिठाई तथा खानेकुरा चढाएका थिए । रासस















प्रतिक्रिया