बुटवल, १७ माघ । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले संविधान निर्माणका विषयमा एकीकृत नेकपा माओवादी सहितका विपक्षी दल सहमतिमा आउने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले प्रक्रियाबाट संविधान बनाउने क्रमसँगै विपक्षी दलहरु पनि सहमतिमा आउने बताउनुभयो ।
बुटवलमा शनिवार बिहान पत्रकारहरुसँग कुराकानी गर्दै एमाले नेता पाण्डेले विपक्षी दलहरुसँग काँग्रेस र एमालेले निरन्तर वार्ता गरिरहेको बताउनुभयो । संविधान निर्माण प्रक्रिया चलिरहँदा वार्ता र संवाद जारी रहने उहाँको भनाइ थियो ।
नेता पाण्डेले संविधानसभा नछाड्ने निर्णय गरेकाले विपक्षी दलहरु संविधानसभाअन्तर्गत समितिका बैठकमा सहभागी हुनुपर्ने बताउनुभयो । उहाँले संविधानसभा र संसद्लाई एकै रुपमा बुझ्न नहुने बताउँदै भन्नुभयो – “संविधानसभाको कुरालाई संसद्मा लैजानु हुँदैन ।”
संविधान कुनै दल विशेषको दस्तावेज बन्न नसक्ने बताउँदै उहाँले “केही गुमाउने र केही लिने” विषयले मात्र संविधान बन्ने बताउनुभयो । उहाँले सबै दलले आ–आफ्ना अडान नछाड्ने हो भने सहमतिको संविधान बन्न नसक्ने बताउनुभयो ।
विपक्षी दललाई सहमतिमा ल्याउन सत्तापक्षीय दलहरु लागिपरेको उल्लेख गर्दै उहाँले यो विषयमा प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओली उत्तिकै क्रियाशील रहेको जानकारी दिनुभयो । रासस















प्रतिक्रिया