सहमतिका लागि प्रधानमन्त्री सुशील कोइरालाले प्रचण्डलाई भेट्नु राम्रो प्रयास
काठमाडौँ, १७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता सूर्यबहादुर थापाले दलहरुकै कमजोरीले माघ ८ मा संविधान आउन नसकेको बताउनुभएको छ ।
संविधानसभामा सुरुदेखि नै छलफल आवश्यक भएपनि अन्तिम समयमा अन्तर्वस्तुमा थप विवाद ल्याएर संविधान बन्न नदिएको आरोप उहाँले लगाउनुभयो । एकीकृत माओवादी लगायतका विपक्षी दललाई कटाक्ष गर्दै उहाँले भन्नुभयो, ‘सहमति गर्नुपर्ने समयमा विवादित विषयलाई थप उचाल्ने काम भयो, जसका कारण देशले संविधान पाएन् ।’
उहाँले संविधान जारी गर्नका लागि प्रमुख राजनीतिक दल एक ठाउँमा उभिनैपर्ने बताउभयो । मालीगाउँस्थित निवासमा शनिवार आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “अब हिजोका गल्तीलाई बिर्सेर देशलाई गतिशीलता दिने एउटै उपाय भनेको प्रमुख पार्टी काँग्रेस, एमाले र एमाओवादी एक ठाउँमा उभिनैपर्छ, एकले अर्कोलाई दोषारोपण गरेर उम्कन मिल्दैन, हामी सबै दोषीको भागीदार हौँ, यथाशक्य चाँडो संविधान जारी गर्ने मिति तय गरिनुपर्छ ।”
निर्धारित समय माघ ८ मा संविधान जारी हुन नसक्दा देशलाई गम्भीर असर परेको र जनतामा निराशा छाउनाका साथै अन्तर्राष्ट्रिय जगत्मा नराम्रो सन्देश गएको बताउँदै उहाँले राजनीतिक अन्योल र गतिहीन अवस्थालाई तोडेर सहमति र समझदारीका साथ मुलुकलाई गतिशील बनाइनुपर्नेमा जोड दिनुभयो ।
पूर्वप्रधानमन्त्री थापाले भन्नुभयो, “दलहरुले समयमै काम सुरु गरेको भए संविधान जारी हुने थियो, तर अन्तिम समयमा आएर पर्याप्त छलफल नै नगरी अन्तर्वस्तुमा थप विवाद चुल्याउने काम भयो, यसले देश र जनतामा मात्र नभई अन्तर्राष्ट्रिय समुदायलाई समेत निरास तुल्यायो, नेतृत्व वर्गले संविधान बन्न नसकेको जिम्मेवारी सामूहिक रुपमा लिनुपर्छ र जनताप्रति सामूहिक क्षमायाचना गर्नैपर्छ ।”
संविधान निर्माण प्रक्रियामा गइसकेकाले त्यसलाई रोक्न नहुने तर्क गर्दै नेता थापाले प्रश्न गर्नुभयो,“संविधानसभाले पास गरेको प्रश्नावली समिति कसरी फिर्ता हुन्छ ?” नेता थापाले शुक्रबार दिउँसो खबरै नगरी प्रधानमन्त्री सुशील कोइरालाले प्रमुख प्रतिपक्षी दलका नेता एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई निवासमै गएर कुराकानी गर्नु असाध्यै राम्रो प्रयास हो भन्दै यस्तो सकारात्मक प्रयासले समझदारीको वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो ।















प्रतिक्रिया