२ कार्तिक २०८३, सोमबार

एमाले सचिव गुरुङको नयाँ प्रस्ताव- ‘विवादित विषयमा जनमत संग्रह गर्न सकिन्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ps-gurung

लमजुङ, १६ माघ । नेकपा एमालेका केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङले संविधान निर्माणका क्रममा देखिएका विवादित विषयलाई जनमत संग्रह गरेर टुंगो लगाउन सकिने बताउनुभएको छ ।

प्रेस चौतारी नेपालको १७ औँ स्थापना दिवसको पूर्वसन्ध्यामा प्रेस चौतारी नेपाल लमजुङ शाखाले मदनआश्रित स्मृति भवन बेसीशहरमा आयोजना गरेको ‘संविधान निर्माणको प्रक्रिया र प्रगति’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले अहिले देखिएको विवादका विषयमध्ये संघीय प्रदेशको नामाङ्कन गर्न प्रदेश सभालाई दिन सकिने बताउनुभयो ।

संविधान निर्माणका बेला देखिएका विवादलाई सहजरुपमा लिएर विवाददित विषयलाई सकेसम्म सहमति गरेर संविधान निर्माण गर्नुपर्ने गुरुङले बताउनुभयो । संविधान निर्माणमा एकीकृत माओवादी लगायत मधेशी दलले इमान्दारिता नदेखाएको र कांग्रेस एमालेले पनि लचकता अपनाउन नसक्दा समस्या आएको उहाँले बताउनुभयो । नेताहरुले विषयलाई विवाद बनाएको भएपनि संविधान निर्माणमा खासै विवाद नहरेको र शक्ति बाँडफाँडमा कुरा नमिल्दा अहिलेको परिस्थिति सिर्जना भएको उहाँले दावी गर्नुभयो । कांग्रेस एमालेले शक्ति बाँडफाँडका विषयलाई लिएर एकीकृत माओवादी लगायत मधेशी दललाई मनाउन सके समस्याको समाधान हुने उहाँको धारणा छ ।

पछिल्लो समय संविधान निर्माणका क्रममा एकीकृत माओवादीले दुईवटा डुंगामा खुट्टा राख्न खोजेको र दुईटा डुंगामा खुट्टा राख्दा डुब्ने सुझाव दिँदै एमाले नेता गुरुङले माओवादी सडक छोडेर सहमतिमा आउनुको विकल्प नभएको उहाँले बताउनुभयो । संविधान निर्माणको प्रक्रिया अगाडि बढेकाले संविधान निर्माण भएर लागू हुने ग्यारेन्टी बढेको उहाँले बताउनुभयो ।

सकेसम्म सहमतिमै संविधान निर्माण गर्नुपर्ने र बहुमतको आधारमा संविधान निर्माण भएपनि संविधान लागू भएरै छाड्ने गुरुङले बताउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य मायानाथ अधिकारीले अहिले संविधान बनेमा नेपाली जनताले अधिकारका लागि आन्दोलन गर्न नपर्ने बताउनुभयो । एमाओवादीले आफ्नै एजेण्डा भएपनि संविधान निर्माणमा बखेडा झिकेको आरोप लगाउनुभयो ।

सभासद् टुका हमालले एमाओवादीको कारण अहिलेको संविधान सभामा केही काम हुन नसकेको बताउनुभयो ।

अर्का सभासद् डा भीष्मनाथ अधिकारीले संविधान निर्माणका विषयमा असहमति भए संवाद, वार्ता र सहमतिको ढोका खुला हुँदाहुँदै एमाओवादी लगायत मधेशी दलले संविधान सभा तोडफोड गरेर राम्रो नगरेको टिप्पणी गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा नेकपा एमालेका अध्यक्ष धनञ्जय दवाडी, उपाध्यक्ष गुमानसिंह अर्याल, सचिव कृष्णप्रसाद अधिकारी, उपसचिव सुभाष पौडेल, कार्यालय सचिव सिंहबहादुर थापा, सचिवालय सदस्य लक्ष्मी अधिकारी, जिल्ला कमिटी सदस्य धर्मराज श्रेष्ठ, नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष नवीनराज कुइँकेल लगायत संचारकर्मीको उपस्थिति रहेको थियो । प्रेस चौतारी नेपाल लमजुङ शाखाका अध्यक्ष ईश्वर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा शाखाका उपाध्यक्ष आश गुरुङले स्वागत मन्तब्य राख्नुभएको थियो ।