लहान, १६ माघ । प्रहरीको गस्ती टोलीले चोरी गरेको सामानसहित गए राति सिरहाको लहानबाट दुई विद्यार्थीलाई पक्राउ गरेको छ ।
चोरी नियन्त्रण अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्ती टोलीले लहान गरपालिका–३ स्थित हुलाक कार्यालय नजिकबाट राति साढे १ बजेतिर चोरी गरेको समानसहित सिरहा भगवानपुर–१ का शिवकुमार यादव र सिस्वा खुर्कियाही–७ का मनोजकुमार यादवलाई पक्राउ गरेको हो ।
लहान नगरपालिकाका श्यामदेव रायको किराना पसलबाट सामान चोरी गरी फर्किरहेको अवस्थामा प्रहरी टोलीले पाँचमध्ये दुई जनालाई पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक चन्द्र राजवंशीले जानकारी दिनुभयो ।
अँध्याराको मौका छोपेर फरार भएका अन्य तीन चोरको खोजी भइरहेको छ । पक्राउ परेकाहरूका साथबाट साबुन, बिस्कुट, चाउचाउ, गुट्खालगायत दुई बोरा सामान बरामद भएको बताइएको छ । रासस















प्रतिक्रिया