२ कार्तिक २०८३, सोमबार

एमाले स्थायी कमिटीले के निर्णय गर्‍यो ? (विज्ञप्तिसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML_Yemale

काठमाडौँ, १५ माघ । नेकपा एमालेको स्थायी कमिटीले सम्भव भएसम्म सहमतिकै माध्यमबाट अगाडि बढ्ने निष्कर्ष निकालेको छ ।

एमाले मुख्यालय बल्खुमा बिहीबार बसेको पाँचौँ बैठकले बहिष्कार, निषेध र सडक आन्दोलनको बाटो छाडेर सहमतिको प्रक्रियामा सामेल हुन विपक्षी दलहरुलाई पुनःआह्वान गरेको छ । अहिले पनि एमाले सम्भव भएसम्म सहमतिकै माध्यमबाट अगाडि बढ्न चाहेको बैठकपछि महासचिव ईश्वर पोखरेलबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकले माघ ११ गते संविधानसभाबाट विवादित विषयमा प्रश्नावली तयार गर्न ‘प्रस्ताव निर्माण समिति’ गठन हुनाले संविधान निर्माणको कामलाई सुनिश्चित बनाउन योगदान पुगेको ठहर गरेको छ । माघ ८ गतेभित्र संविधान जारी गर्ने संविधानसभाको सङ्कल्प र जनताको अपेक्षा विपरीत एनेकपा माओवादी नेतृत्वको मोर्चाको ‘अनुत्तरदायी व्यवहार र अवरोध’का कारण पूरा हुन नसकेको पनि एमालेले जनाएको छ ।

एमालेले बजारमा खाना पकाउने ग्यासको हाहाकार सिर्जना भएर सर्वसाधारण जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको स्थितिप्रति चिन्ता समेत व्यक्त गरेको छ । साथै, कालोबजारियाको नाफाखोर प्रवृत्ति, गैरजिम्मेवार व्यवहार र बदनियतपूर्ण कदम रोक्न एमालेले सरकारसँग माग गरेको छ ।

एमालेको विज्ञप्तिको पूर्णपाठ यस्तो छ:

१५ माघ २०७१

प्रेस वक्तव्य

नेकपा (एमाले) स्थायी कमिटीको पाँचौं बैठक माघ १५, २०७१ गते अध्यक्ष कमरेड केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, मदननगरमा बस्यो । बैठकमा माघ ८ पछिको राजनीतिक स्थिति, विभिन्न दलहरूको भूमिका र अन्तर्राष्ट्रिय समुदायको चासोका बिषयमा व्यापक छलफल भयो । बैठकले देहायका निर्णयहरू गरेको छ–

१. माघ ८ गतेभित्र संविधान जारी गर्ने संविधानसभाको सङ्कल्प र जनताको अपेक्षा एनेकपा (माओवादी) नेतृत्वको मोर्चाको अनुत्तरदायी व्यवहार र अवरोधका कारण पूरा हुन नसकेको कुरा नेपाली जनतासामु स्पष्ट छ । यसै पृष्ठभूमिमा माघ ११ गते संविधानसभाबाट विवादित बिषयहरूमा प्रश्नावली तयार गर्न ‘प्रस्ताव निर्माण समिति’ गठन हुनुलाई सकारात्मक रूपमा ग्रहण गर्दै यसबाट संविधान निर्माणको कामलाई सुनिश्चित बनाउन योगदान पुगेको पार्टीले ठहर गरेको छ ।

प्रश्नावली निर्माणको प्रक्रिया प्रारम्भ भए पनि वार्ता र संवादको माध्यमबाट सहमति खोज्ने प्रयाश जारी नै रहेको र अहिले पनि नेकपा (एमाले) संभव भएसम्म सहमतिकै माध्यमबाट अगाडि बढ्न चाहेको कुरामा पुनः जोड दिंदै एनेकपा (माओवादी) लगायतका विपक्षी दलहरूलाई बहिष्कार, निषेध र सडक आन्दोलनको बाटो छाडेर सहमतिको प्रक्रियामा सामेल हुन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्ने ऐतिहासिक अभिभाराबाट विमुख नहुन पुनः आह्वान गर्दछ ।

२. विगत केही दिन यता बजारमा खाना पकाउने ग्यासको हाहाकार सिर्जना भएर सर्वसाधारण जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको स्थितिप्रति पार्टीको गंभीर ध्यानाकर्षण भएको छ । नेपाल आयल निगमले ग्यासको आपूर्ति पर्याप्त मात्रामा भइरहेको जनाइरहेको बेला भइरहेको यो अभावलाई नेकपा (एमाले) ले कालोबजारियाहरूको नाफाखोर प्रवृत्ति, गैरजिम्मेवार व्यवहार र बदनियतपूर्ण कदमको रूपमा लिएको छ । कालाबजारियाहरूको यस्तो मनपरी र कतिपय ग्यास उद्यमी एवं व्यवसायीहरूको मनपरीलाई रोक्न नसक्नुमा सरकारको गम्भीर लापर्बाही र निरीहता प्रकट भएको छ । नेकपा (एमाले) नेपाल सरकारलाई अविलम्ब खाना पकाउने ग्यासको सहज र प्रभावकारी आपूर्ति गराउन, कालाबजारियाहरूलाई तत्काल कडा कारबाही गर्न र राजनीतिक अन्यौलको लाभ उठाउँदै समाजमा अशान्ति र अराजकता फैलाउने प्रयाशप्रति सजग रहन जोडदार माग गर्दछ ।

ईश्वर पोखरेल
महासचिव
नेकपा (एमाले)